राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हँुदै छ । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावमा मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । तर, मतदान नभई बैठक आजसम्मका लागि सारिएको थियो । बैठक सार्न कांग्रेस र एमालेले छुट्टाछुट्टै आग्रह गरेका थिए । विपक्षी गठबन्धले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका हुन् । ९२ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठबन्धनमा ५० सांसद रहेका छन् । राप्रपाका एक सांसद भने तटस्थ देखिएका छन् ।