राजनीति

पटकपटकको कार्यतालिका हेरफेरले पाचौँपटकको काँग्रेसको महाधिवेशनमाथि पनि आशंका कायमै


काठमाडौँ — पाँचौपटकको संसोधित् कार्यतालिका अनुसार नेपाली काँग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म तय भएको छ । तर पटकपटकको कार्यतालिका हेरफेरले महाधिवेशनमाथिको आशंका कायमै ।

अहिले त एकै तिथिमितीमा महाधिवेशन केन्द्रीत बनेको एमाले काँग्रेसका लागि दबाब बनेको छ ।मंसिरको दोस्रो साता चितवनमा १० औं राष्ट्रिय महाधिवेशन गर्ने भव्य तयारी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई लिएर पटकपटक टिप्पणी गरिसके । आम निर्वाचनसमेत नजिकै रहेका बेला एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिस्पर्धि दलको आन्तरिक महाधिवेशनमाथि लगातार गरेको टिप्पणी केही प्रतिशोध जस्तो देखिएपनि यसलाई काँग्रेसकै असक्षमताको उपजका रुपमा लिन सकिन्छ ।

झण्डै दर्जनपटक तल्लो तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको काँग्रेसले दुई बर्ष महाधिवेशनकै तयारी र मिति फेरबदलमै विताएको छ । हाल आएर पाँचौंपटक महाधिवेशनको कार्यतालिका परिवर्तन गर्दै अब मंसिर २४ देखि २६ सम्म पुनः अर्काे मिति तय गरिएको छ । तर महाधिवेशन हुनेमा उस्तै आशंका । फलतः प्रमुख प्रतिपक्ष दलले समेत महाधिवेशन लक्षित प्रहार गर्न थालेको हो ।

करिब दुईबर्षदेखि महाधिवेशनमै होमिएको काँग्रेसले पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने अवस्था आएपछि निर्वाचन आयोगको सुझावका आधारमा संवैधानिक समयसीमाभित्रै वडा अधिवेशन सुरु गरेको हो । तर वडा अधिवेशन शुरु भएको तीन महिनाकाबीच १३ जिल्लामा अझै वडा अधिवेशन सुरु नै भएको छैन । यत कात्तिक ६ मा वडा र ९ मा पालिकास्तरको अधिवेशन सम्पन्न गरेको एमालेले भने अधिकांश जिल्लामा सर्वसम्मतीसहित सबै जिल्लामा नेतृत्व चयन गर्न सफल भएको छ । फलतः एकै तिथिमितीमा महाधिवेशन केन्द्रीत बनेको एमालेसंग काँग्रेसले चुनौती र दबाब खेप्नु परेको विश्लेषण भइरहेका छन् ।

महाधिवेशनको मुखमै प्रधानमन्त्री समेत सभापति देउवा साताव्यापी विदेश भ्रमणमा छन् । अन्य नेतृत्वसमेत महाधिवेशन लक्षित गतिविधिमा केन्द्रीत बनेको छैन । अबपनि तोकिएकै मितिमा काँग्रेसले महाधिवेशन सम्पन्न गर्न नसके काँग्रेसले आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन पाउने छैन । तर एकातिर पार्टी विभाजन, अर्काेतर्फ आन्तरिक विवादको दबदबा, तर पनि छोटो समयको तयारीमै एमालेको महाधिवेशन प्रक्रिया धमाधम अघि बढिरहेका बेला कांग्रेसको पाँचौंपटकको कार्यतालिकामाथि समेत आशंका कायमै छ ।