राजनीति

प्रधानन्यायाधीश राणासँग वार्ता गर्न तीन न्यायाधीशको टोली गठन


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग राख्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् । एक सातायता प्रधानन्यायाधीश राणाले तोकेको इजलास अस्वीकार गरेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने छन् । उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् ।

उता नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आइतबारैबाट प्रर्दशन थालेको छ । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब छ ।