देश

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित


काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिनुभयो । अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभयो ।

नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको बिरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।