समाचार

फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले फाले मेयरको घर अगाडि फोहोर


काठमाडौँ – जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर बिरोध गरेका हुन् । उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् । शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमासो दल्ने चेतावनी दिनुभयो । वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।

प्रहरीले नगरप्रमुख साहको घर अगाडी फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए । वडाध्यक्षहरुले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन् ।