राजनीति

बार एशोसिएसनले थाल्यो दैनिक दुई घन्टा धर्ना,राजीनामा नदिने प्रधानन्यायाधीशको अडान


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाको अल्टिमेटम दिएको नेपाल बार एशोसिएसनले आजदेखि विरोधका कार्यक्रम सुरु गरेको छ । पाँच दिनको अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक बिहान १० देखि ११ बजेसम्म एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिन थालेको हो ।

मंगलबार विरोधसभा पनि गर्ने कार्यक्रम रहेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारले चेतावती दिएको छ । इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिनुभयो । यसैबीच, न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन् । न्यायालयको विवादले पछिल्लो समय इजलास प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीश जबरा सडकबाट माग्दैमा राजीनामा नदिने अडानमा रहनुभएको छ । संवैधानिक प्रक्रियाबाट आएको र त्यही बाटोबाट जाने उहाँको जिकिर रहेको छ ।