समाचार

तिहारको आगमनसँगै बजारमा फूल व्यापार गर्नेको संख्या बढ्दै (भिडियोसहित)


काठमाडौँ – गोदावरी पुष्प प्रदर्शनी शुरु भएसँगै पुष्प व्यावसायीहरु उत्साहित भएका छन् । तिहार नजिकिएसंगै मेला लागेपछि पुष्प व्यावसाय फस्टाउने भन्दै उनीहरु उत्साहित भएका हुन् । तर, अझै पनि नेपाली उत्पादनले नेपालको माग धान्न नसक्दा व्यवसायीहरु निराश बनेका छन् ।

नेपाली समाजमा फूल भन्ने वित्तिकै धर्म सस्ंकृति सँग प्रत्यक्ष रुपमा जोडिएर आउने गरेको छ । फूलको प्रयोग विभिन्न चाडपर्व, धार्मिक कार्यक्रम, विवाह, ब्रतबन्धमा प्रयोग हुदै आएकोमा पछिल्लो समयमा भने फूललाई खुसि आदान प्रदान गर्ने माध्यम र समृद्धिको प्रतिकको रुपमा पनि लिन थालिएको छ । तिहारको आगमनसँगै बजारमा फूल व्यापार गर्नेको संख्या बढ्दै गएको छ । तर पनि नेपाली उत्पादनले धान्न अझै सकिरहेको छैन । अहिले नेपालमा फुल उत्पादनको बृद्धि सगैं उपभोत्ताको पनि माग बढेको छ । फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको छ ।

गत वर्षको तिहारको पाँच दिनमा १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । तर, यस वर्षको तिहारमा १० करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ । यो वर्ष तिहारका लागि साढे १८ लाख मालाको माग रहेको छ । जसमा करिब ३ लाख मखमली र गोदावरी रहेको छ भने अन्य बाँकी सबै सयपत्रिको माग रहेको छ । साढे दुई लाख माला बाहिरबाट आयात हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ बताउछन् ।

तिहारको लागी मात्र नेपालको फुल उत्पादनले नपुग्ने भएकोले विदेशबाट ल्याउने परेको व्यवसायीहरु बताउछन । पुष्प व्यवसायीले सरकारले भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलले बजार पाउने व्यवसायीहरु बताउँछन् । यो वर्ष लामो समयको निषेधाज्ञा र पानी परेको कारण नयाँ बिरुवा उत्पादनमा कमी आएको छ । त्यसैले गर्दा पनि तिहारमा फूलको मागलाई नेपाली उत्पादनले धान्न सक्ने अवस्था छैन ।