राजनीति

गलत नियतले नागरिकता अध्यादेश ल्याइयो : प्रचण्ड


काठमाडौँ – केपी शर्मा ओली सरकारमा हुँदा गलत नियतले नागरिकता अध्यादेश ल्याइएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्न जाने क्रममा शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले यसअघिको नागरिकता अध्यादेशको कार्यान्वयनमाथि रोक लगाएको विषयमा सञ्चारकर्मीहरुले ध्यानाकर्षण गराउँदा केपी ओली नेतृत्वको सरकारले गलत नियतले नागरिकता अध्यादेश ल्याएको दाबी गरेका हुन् ।

साथै, प्रचण्डले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । ‘नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । अध्यादेशमार्फत ल्याउनु परे पनि नागरिकता विधेयक सहमतिमै ल्याइनेछ,’ उनले भने ।