काठमाडौँ – भारतीय चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलबाट आज रिहा हुँदै छन् । बिहान १० बजे कारागार खुलेपछि उनी बिहान ११ बजेसम्म रिहा हुने छन् ।२८ दिन जेल बसेका उनसहित अन्य आठ जनालाई १४ सर्त राखेर बाम्बे उच्च अदालतले रिहा गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
सबै अभियुक्तले यो मुद्दाबारे टेलिभिजन, छापा तथा सामाजिक सञ्जालमा कुनै किसिमको बयान या टिप्पणी नदिने, यस किसिमका क्रियाकलापमा फेरि संलग्न नहुने कुरामा ख्याल गर्नुपर्ने, अभियुक्तले सह–अभियुक्तसँग सम्पर्क नगर्ने, मुद्दामा असर पर्ने कुनै काम नगर्ने, प्रमाणहरूबारे कुनै किसिमको टिप्पणी नगर्ने, अनुमतिबिना देश बाहिर नजाने, मुम्बईबाट बाहिर जान परेमा अनुसन्धान अधिकारीलाई सूचित गर्ने र बोलाएको बेला उपस्थित हुने लगायतका १४ सर्त राखिएको हो । यदि सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । मुद्दा प्रभावित नहोस् भन्नका लागि अदालतले सर्त राखेको बताइएको छ ।
चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यनसहित आठ जनालाई गत अक्टोबर २ मा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेर मुद्दा चलाएको थियो । खानले २८ अक्टोबर बिहीबार बम्बे हाई कोर्टबाट जमानत पाएका थिए ।
प्रतिक्रिया