देश

चीनको अघोषित नाकाबन्दीले नाकामै रोकियो तिहार लक्षित सामग्री (भिडियोसहित)


काठमाडौँ — चीनको अघोषित नाकाबन्दीका कारण नेपालीका लागि दशै जस्तै तिहार पनि महङ्गो बनेको छ । चीनबाट आयात हुने चाडपर्व लक्षित सामग्रीहरु नेपालीले पूरै पैशा तिरिसक्दा पनि नाकामा रोकिएपछि बजार महंगिएको हो । विशेषत तिहारका झिलीमिली बत्ती तथा ड्राईफ्रुट चिनबाट आउने गरेकोमा नाकामै रोकिएपछि अहिले बजारमा अभाव देखिएको छ ।

कोरोना महामारीको कारण देखाउदै चीनले तातोपानी तथा केरुङ नाकामा कडाई गरेपछि चाडपर्व लक्षित सामग्री सहज रुपमा आयात हुन सकेका छैनन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि कहिले पनि नाकाबन्दी नगर्ने बताउदै आएपनि अवस्था त्यस्तो देखिएको छैन । अर्थात विगत २ बर्षबाट राजदूत यान्छीको भनाइ विपरित चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको छ ।

त्यही नाकाबन्दीका कारण चीनबाट नेपाल भित्रिनु पर्ने सयौैं कन्टेनर सामान समयमै नभित्रिँदा यसपटकको दशैंमा पुरानै कपडाहरु बजारमा भेटिए । तिहारका लागि अर्डर गरिएका विद्युतीय दियो, झल्लर देखि अन्य सामानहरु पनि नाकामा बिना कारण रोकिएका छन् । आयातकर्ताहरुका अनुसार चीनले नेपाली व्यवसायीका दैनिक ४० प्रतिशत सामग्री मात्र छाड्ने गरेको छ । यहि कारण यसपटकको तीहारमा केही वस्तुको मूल्य महँगो हुन सक्ने आँकलन गरिएको छ । जस्तो कि विद्युतीय दियो, झल्लर, रंगीन लाइटहरुको मूल्य ५० प्रतिशतसम्म बढ्ने व्यापारीहरुले बताएका छन् ।

व्यवसायीहरुले गत बैशाखमै चाडपर्वका लागि आवश्यक सामग्रीका लागि भुक्तानी गरिसकेका छन । जसमध्ये दशैका लागि आवश्यक सामग्री समेत अझै पुरै आईसकेको छैन । यस्तै अवस्था रहे जाडोको लागि अर्डर गरिएका लत्ताकपडा गर्मीको समयमा आईपुग्ने आयातकर्ताहरुको गुनासो छ । नेपाल र चीनबीच पारवहन सम्झौतासमेत भइसकेको छ । अर्थात नेपालले चीनीयाँ सामान मात्रै होइन, चिनियाँ बन्दरगाह प्रयोग गरेर अर्को देशसँग समेत व्यापार गर्न पाउने अवस्था कायम छ । तर अहिले चीनकै सामान समेत आयातमा अवरोध भइरहेको छ ।

तातोपानी नाकाबाट दैनिक मुस्किलले १५ कन्टेनर र केरुङबाट ८ केन्टेनर सामान नेपाल भित्रिरहेका छन् । नेपाल भित्रिने पर्खाइमा सयौं कन्टेनर तीब्बत तर्फ लाममा छन् । ती सबै सामानहरुको परीक्षण गर्ने, भन्सार काटने आदि काम नेपालको हो । चीनले त्यसमा केही गर्नै पर्दैन । चीनले सामान निर्यातमा अवरोध नगर्ने हो भने महिनौंदेखि रोकिएका सामान एक सातामै आयात भइसक्छन् । तर यसतर्फ सरकारले समेत ध्यान दिन सकेको छैन । अन्तराष्ट्रिय मामलका जानकाहरु भने यसलाई हाम्रो देशको आर्थिक कुटनितिको कमजोरी ठान्छन । चिनले नाकाबन्दी गर्नुमा कोरोनामात्र नभई नेपाललाई तिब्बतको आखाँबाट हेर्नु पनि मुख्य कारण रहेको उनीहरुको भनाई छ ।

हुन त चीनमा नेपालबाट खासै निर्यात हुने गरेको छैन । यसको मतलव चीनका लागि नेपाल बजारमात्र हो । फलत ः उसले गरिरहेको नाकाबन्दीलाई कोरोना मात्र कारण बुझ्न मिल्दैन । तर यति प्रष्ट हुदाँहुदै पनि नेपालको कुटनीतिक मामिला हेर्ने निकायले दुई वर्षदेखि कानमा तेल हालेर बसिरहेको छ । जसको व्यवसायी र आम नेपाली उपभोक्ता परिरहेका छन ।