राजनीति

विभिन्न मन्त्रालयका आधा दर्जन सचिवसहित प्रधानमन्त्री देउवा लण्डन प्रस्थान


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उक्त टोली १०:४० बजे कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।

पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि उहाँ कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश फर्र्कने कार्यक्रम तय भएको छ ।