राजनीति

भीमबहादुर विश्वकर्माले न्याय पाउलान त ?(भिडियोसहित)


काठमाडौँ – चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन हुँदै आएको छ । जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतिघरमा बिहीवार खबरदारी प्रदर्शन गरिएको हो ।

चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको गत २८ असोजमा हत्या भयो । दशैँको नवमीको दिन मन्दिरमा पुजा गर्न गएका विश्वकर्माको स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटाईबाट ज्यान गएको थियोे । उनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै शनिबारदेखि माइतीघरमा प्रदर्शन भइरहेको छ ।

बिहीबार जसपाको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको छ । जसपाकी नेता कमला हेमचुरीले भीमबहादुर विश्वकर्माको हत्या हिन्दु आतंकवादीहरुले गरेको बताइन् । उनले नेपालमा कुनैपनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरुलाई राज्यले संरक्षण गरेको आरोप समेत लगाइन् । बिश्वकर्माको हत्यारालाई कारबाहीमुक्त गर्न लागिएका कारण खबरदारी आवश्यक रहेको भनाई छ ।

प्रदर्शनमा जसपाका नेता तथा अभियन्ताहरुले संविधानमा लेखिएको अधिकारको विषय सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताए । भीमबहादुर बिश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न पनि माग गरिएको छ ।

प्रदर्शनमा जातिय विभेद अन्त्य गर, भीम विश्वकर्मालाई न्याय दे, मानव अधिकारको ग्यारेन्टी गर, जातिय छुवाछुतको अन्त्य गर, जातिय विभेद चाहिदैनँ, मान्छे मार्न पाइदैनँ, सामाजिक न्याय कायम गर, उत्पीडित समुदाय एक हौँ, भीम विश्वकर्माका हत्यारालाई कारबाही गर लगायतका नारा लगाइएको थियो । प्रर्दशनमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।