राजनीति

पेलेरै अघि बढे प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु थप कदम चाल्दै, बार आन्दोलनमा जाने


काठमाडौँ – दुई दिनदेखि इजलास नै ठप्प पारी प्रधानन्यायाधीशमाथि दबाब दिन लागिपरेका न्यायाधीशहरु कुनैपनि हालतमा जबराको नेतृत्व स्वीकार्ने पक्षमा छैनन् । यसैकारण सर्वाेच्चमा सुनुवाईको काम प्रभावित भएको छ । तर राजीनामा दिनुपर्ने चौतर्फी दबावकै बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले एकल इजलासबाटै मुद्दा सुनुवाईमा अघि बढाएका छन् । राजीनामा दिन चौतर्फी दबाव दिनेहरुलाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले मंगलबार जवाफ फर्काए, ‘प्रधानन्यायाधीश नियुक्त गर्ने र हटाउने संवैधानिक प्रक्रिया छ ।

त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर सडकबाट दबाव दिएर हट्नुपर्छ भन्नु पटक्कै स्वीकार्य छैन ।’ आफ्नै सहकर्मी न्यायाधीशलाई मुखभरीको जवाफ फर्काएका जबरा मार्गप्रशस्त गर्ने पक्षमा छैनन् । बरु बुधबारदेखि इजलास नै तोकेर दबाव दिने नीति अख्तियार गरेका छन् । जबराले बुधबार संवैधानिक र आफ्नो एकलसहित १२ वटा इजलास गठन गरे । अरु इजलासका न्यायाधीश नआए पनि जबराले एकल इजलासबाटै पाँच वटा मुद्दाको सुनुवाई गरेका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायालयमा विचलन ल्याएको भन्दै सर्वाेच्च अदालतमा दुई दिनदेखि इजलास बसेको थिएन । सोमबार बोलाएको फुलकोर्ट बहिस्कार गरेका १४ न्यायाधीशहरु मंगलबार पनि इजलासमा बसेनन् । न्यायाधीशहरूले मुद्दा नहेरेपछि बुधबार आफ्नो एकल इजलास राखेर जबराले मुद्दा हेर्दै अरुमाथि दबाब बढाउने प्रयास गरेका हुन् । तर दबाबलाई पेलेर जबरा अघि बढ्न खोजेपनि नेपाल बारसहितको न्यायक्षेत्र उनको राजीनामाको पक्षमा छ । नभए आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ ।

दुई दिनदेखि इजलास नै ठप्प पारी प्रधानन्यायाधीशमाथि दबाब दिन लागिपरेका न्यायाधीशहरु कुनैपनि हालतमा जबराको नेतृत्व स्वीकार्ने पक्षमा छैनन् । निकास नदिए थप कदम चाल्ने न्यायाधीशको तयारी छ, भने प्रधानन्यायाधीश विषयलाई पन्छ्याएर उम्किन ध्याउन्नमा छन् । जसको प्रत्यक्ष असर न्यायका लागि न्यायालय पुग्ने सेवाग्राहीमा परेको छ ।