समाचार

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउँदै आएका कुमाल र प्रजापति समुदायलाई भ्याइनभ्याइ


काठमाडौँ – उज्यालो पर्व तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाल र प्रजापति समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । तिहारमा गत वर्ष कोरोनाका कारण कम भएको व्यापार यो वर्ष भने भक्तपुरमा माटोका भाँडा पालालगायतका सामान माग अनुसार पु¥याउन नसकने होकि भन्ने चिन्ता छ । माटोका भाडालाई पुर्खेली पेशा बनाएको कुमाल, प्रजापति समुदाय नयाँ सीप र माटोको अभावका कारण समस्यामा त परेका नै छन, तर पनि माटोमा हातले कला कुँदेर भाँडाकुँडा, खुत्रुके र गमला आदि बनाएर पुख्र्याैली पेशालाई जिवितै राखेका छन् ।

भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, पोटरी–स्क्वायर, थिमिको नगदेश, बोडे लगायतका क्षेत्रका प्रजापतिहरुले माग अनुसारको पाला बनाउने गर्छन । तिहारमा राम्रोसँग पाला बनाएर बेच्ने एक जनाले ५०–६० हजार सम्म कमाउने गरेको ब्यवसायीहरुको अनुभव छ । उनी हुन बुद्विराम प्रजापति ४० वर्ष देखि यहि माटोका भाडा बनाउदै आएका छन् । अहिले तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको उनी बताउँछन

माग धेरै भएकाले र तिहार आइसकेकाले यहाँका पाला बनाउने प्रजापति समुदायका सिङ्गो परिवार पाला बनाउन र बिक्री गर्न मै व्यस्त छन् । त्यस्तै माया देवी प्रजापतिले पनि बच्चा देखि नै माटोका भाडा पालालगायतका विभिन्न सामान बनाउदै आएकी छिन् । तर, भाडा बनाएर फाइदा भए पनि माटो नहुँदा समस्या परेको उनको गुनासो छ ।

आधुनिक प्रविधि प्रयोग गरी बनाइने भए पनि विद्युत नभएको समयमा भने पुरानो प्रविधि अर्थात हाते काठको चक्रबाट पनि पाला बनाउने गरिन्छ । यसबाट मनग्य फाइदा लिएको उनीहरुको अनुभव छ । तर, तिहारमा माग बढि भएकाले माग धान्न सक्ने उत्पादन तयार नभएको व्यवसायीको भनाइ छ ।

अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न । त्यसैले नेपाली कच्चा पदार्थबाट निर्माण हुने यस्ता मौलिक उद्योगलाई संरक्षण गर्न राज्यले विशेष ध्यान दिनु जरुरी छ ।