राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा


काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य राजीनामा दिनुभएको छ । प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घोषणा गर्नु भएको हो ।

शाक्य गत भदौ २ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेको दुई महिनापछि नै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएको हो । उहाँले असोज २४ मा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावमाथि कात्तिक ४ को प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो । तर आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिएको हो ।

१०९ जना सांसद रहेको बागमती प्रदेश सभामा एमालेका ५६ सांसदको साथ पाएर शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । १३ जना नेकपा एकीकृत समाजवादीमा गएसँगै शाक्य अल्पमतमा पर्नुभएको थियो । बागमतीमा अहिले एमालेका ४३, नेकपा माओवादीका २३, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका समान दुई र जनता समाजवादी पार्टी (जसपा) को एक जना सांसद छन् ।