कोरोना विशेष

पिसीआर गर्ने ल्याव र एयरलाईन्सबीच कमिसनको खेलः यात्रुलाई सास्ती,सरकार मौन(भिडियोसहित)


काठमाडौँ – युएई अन्तर्गतका देशहरुद्धारा नेपाली यात्रुहरुलाई चार घण्टा अघि गरिएको र्यापिड पिसिआरलाई मात्र मान्यता दिने प्रावधानले एअरलाईन्सहरुको ठगी धन्दा मौलाएको छ । नेपाल सरकारको मान्यता प्राप्त जुनसुकै ल्याबका कोरोना परिक्षण रिपोर्ट मान्य हुने भएपनि एअरलाईन्सहरुले मान्यता नदिदाँ यात्रु मारमा पर्ने गरेका छन । नेपाली कामदारलाई सास्ती दिने, अल्मल्याउने मामिलामा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेका र्यापिड पिसिआर ल्याब पनि थपिएका छन । दुवईले आफ्नो मुलुक आउन चाहनेसँग उड्नु भन्दा चार घण्टा अगाडिको र्यापिङ पिसिआर रिपोर्ट माग्न थालेपछि विमानस्थल परिसरमा पिसिआर परीक्षण गर्ने ल्याबको लाइन लाग्ने गरेको छ ।

दुवई सरकारको नियमानुसार नेपाल सरकारको मान्यता प्राप्त जुनसुकै ल्यावबाट गरिएको र्यापिड पिसिआरका आधारमा यात्रा गर्न पाउने भएपनि त्यसो हुन सकिरहेको छैन । उडान गर्ने एअरलाइन्सहरुले विमास्थल परिसरमा लाइनै बसेका सबै ल्याबलाई मान्यता दिँदैनन् । स्रोतका अनुसार जुन ल्याबले राम्रो कमिसन एअरलाईन्सवालाहरुलाई दिन्छन्, तिनै ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने गरिएको छ । कमिसन नदिने वा कम दिने ल्याबले दिएको रिपोर्टलाई केही एअरलाइन्सहरुले मान्यता नै दिँदैनन् । यसरी कुन विमानमा यात्रा गर्ने हो उसैले तोकेको ल्यावमा गरिएको पिसिआर चाहिने भएपछि यात्रुहरु सास्ती खेप्न बाध्य बनेका छन ।

गएको मंगलबार हिमालयन एअरलाइन्सबाट दुवई जान विमानस्थल परिसरमै रहेको स्टार अस्पतालको ल्याबबाट पिसिआर परीक्षणको रिपोर्ट बोकेर बोर्डिङ पास लिन गएका यात्रुलाई एअरलाईन्सका कर्मचारीले बोर्डिङ पास नै दिएनन् । उनीहरुले क्रिष्टलको ल्याबाट रिपोर्ट लिएर आए मात्रै बोर्डिङ पास दिने भन्दै एअरलाईन्सका कर्मचारीले विवाद गरेपछि दुई पक्षबीच तनावको स्थिति सिर्जना भयो । विवाद बढ्ने देखेपछि विमानस्थल प्रशासनले धेरै संख्यामा प्रहरी परिचालन गरेर विवाद अन्त्य गरेको थियो । तर अहिले पनि नेपाल वायु सेवा निगमका कर्मचारीले सुमेरु, स्टारलगायतकाको ल्याब रिपोर्टलाई मान्यता दिने गरेको छ । मंगलबारको विवाद पछि अहिले एअरलाईन्सहरुले एकमात्र ल्यावको रिपोर्टलाई मान्यता दिने वाध्यता कम गरेर दुई वा तीन ओटा ल्यावसम्म सेवा विस्तार गरेका छन । जुन विमानस्थलमा रहेका ल्यावहरुले आफ्नो बाहिर रहेको बोर्डमा लेखेर राखेका छन । कुन ल्याबको रिपोर्टलाई मान्यता दिने, कुनलाई नदिने भन्ने कुराको निक्र्योल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नु पर्ने हो । अचम्म त के भने नेपालका ल्याबले दिने रिपोर्टको क्वालिटी चेक एअरलाईन्सका कर्मचारीहरुले गरिरहेका छन् । तर यसरी मनोमानी भईरहदाँ पनि देशभरका ल्याबहरुको अनुगमन, निर्देशन दिने जिम्मेबारी पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख नै चिक्त वुझ्दो जवाफ दिन सक्दिनन् ।

पिसिआर परीक्षण गर्ने ल्याबहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्युलर परीक्षण (पिसिआर) गर्न अनुमति दिने सम्बिन्धी निर्देशिका – २०७७’ जारी गरेको छ । त्यो निर्देशिका अनुसार पनि मानिसहरुको बाक्लो आवतजावत हुने स्थानमा यस प्रकारको ल्याब खोल्न नपाइने उल्लेख गरेको छ । दुवई सरकारले बनाएको नयाँ नियमपछि त्रिभुवन विमानस्थलमा ल्याब राख्नै पर्ने बाध्यकारी अवस्था आएपछि यी ल्यावहरु स्थापना गरिएका हुन । फलत ः विमानस्थल परिसरमा भएका यी ल्याबहरु आवश्यक छन् भन्ने कुरामा विवाद भएन, तर देशमा कुनै सिस्टम नै नभए झै यिनले गरिरहेका क्रियाकलाप चाहिँ अनौठो देखिएका छन् ।