काठमाडौँ – सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन् । उनीहरूले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।
न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए ।
उक्त बैठकमा न्यायाधीशहरूले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ ।
सोमबार प्रधानन्यायाधीशले १३ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए । तर, ती कुनै पनि इजलास बस्न नसकेको प्रवक्ता दाहालले जानकारी दिए ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ । पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामानै अन्तिम विकल्प भएको बताएका छन् ।
प्रतिक्रिया