काठमाडौँ – कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण भएको स्क्रव टाइफससँगै डेंगका विरामी देशका बिभिन्न जिल्लामा बढ्दै गएका छन् । दुवै रोगमा भाइरल र कोरोना जस्तै ज्वरो आउने लक्षण भएकोले सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
सन् १९३० को दशकमा जापानमा पहिलो पटक देखिएको स्क्रब टाइफस पछिल्लो समय नेपालमा बढ्न थालेको छ । मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’को माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने गरेको पाइएको छ । डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ । जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु जस्ता डेंगुको लक्षण देखिन्छ । स्क्रव टाइफस पनि उस्तै उस्तै लक्षण देखिन्छ ।
अत्यधिक टाउको दुखाइ, ज्वरो, स्वास फेर्न गाह्रो हुने, खोकी, वाकवाकी, वान्ता, पखाला लाग्ने, जोर्नी, मांसपेशी दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिएका बिरामीले यतिवेला अस्पताल भरिने गरेका छन् । कतिपय बालबालीकाले भने स्क्रब टाइफस रोगबाट ज्यान नै गुमाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले अस्पतालमा यसको बिरामीहरु आइरहेको बताए । कोरोना सक्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
बालबालिका घरबाहिर झार भएका स्थानमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले धपाउन वा मार्न नसक्ने हुन्छन् । अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत मिलेकाले यसको जोखिम बढ्दै गएको विज्ञहरु बताउछन् ।
खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म खेतमा काम गर्दा लामो जुत्ता लगाउने गर्नुपर्दछ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्नुपर्दछ । विशेषगरी बालबालिकामा यो रोगले बढी असर गर्ने भएकोले उनीहरुलाई जनावर र फोहोरबाट बचाउनुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ । त्यस्तै डेंगुबाट बच्न सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया