राजनीति

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक कूको आशंका


काठमाडौँ – अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन् ।
बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन् ।

उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ । सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको जिम्मा लिएको छैन । सुडानमा दुई वर्षदेखि राजनीतिक दलका नेता र सैनिक सहभागी संक्रमणकालीन सरकार थियो ।

लामो समय शासन गरेका ओमर अल बसिरलाई सत्ताच्युत गरेपछि उक्त संक्रमणकालीन सरकार बनेको थियो । प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेपछि प्रजातन्त्र पक्षधरहरूले सोमबार बिहानै राजधानी खार्तुममा प्रदर्शन आह्वान गरेका छन् ।

खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको र खार्तुम विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ । प्रत्यक्षदर्शीहरूले शहरभरि ठूलो संख्यामा सैनिक र अर्ध सैनिकहरू परिचालन गरिएको र नागरिकलाई हिँड्न प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्ससँग बताएका छन् ।

सुडानको प्रमुख प्रजातन्त्रवादी समूहले सैनिक कूको प्रतिरोधका लागि नागरिकलाई सडकमा निस्कन आह्वान गरेको छ । सत्ताच्युत भएका बसिरका समर्थकहरूले यसअघि गत सेप्टेम्बरमा पनि कूको प्रयास गरेका थिए । त्यतिबेला कू सफल नभए पनि संक्रमणकालीन सरकारमा तनाव थपिएको थियो ।

अक्टोबरको सुरूमै प्रजातन्त्रविरोधी समूहले खार्तुममा प्रदर्शन गर्दै सेनालाई सत्ता लिन आह्वान गरेका थिए । प्रजातन्त्रवादी समूहले भने सत्ता हत्याउन सेनाकै योजना त्यस्तो प्रदर्शन भएको बताएका थिए ।

पछिल्लो समय सुडानको अर्थतन्त्र खस्किँदै गएकाले संक्रमणकालीन सरकारप्रति आममान्छेको असन्तुष्टि बढ्दै गएको छ ।