राजनीति

विदेशीसँग मागेर भएपनि राहत दिन्छु : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीसँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने बताएका छन् । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि उपलब्ध स्रोत साधन कम भए विदेशीसँग मागेर भएपनि राहत प्याकेज उपलब्ध गराउने बताएका हुन् ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली परिसरमा बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफू राजधानी फर्किनासाथ बाढीपीडितका लागि केही न केही काम गर्ने बताए । उनले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे ।

कार्यक्रममा कोसी गाउँपालिका, धरान उपमहानगरपालिका र दुहबी नगरपालिकाले बाढी तथा डुबानबाट क्षति भएको भन्दै राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । हेलिकोप्टरबाट इटहरी आइपुगेका देउवासँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुषालसमेत सहभागी छन् ।