राजनीति

त्रिभुवन विमानस्थलमा पीसीआर परीक्षणका नाममा कमिसनको धन्दा

मन्त्रालयले गठन गर्‍यो छानविन समिति



काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मापदण्ड विपरीत खडा गरिएका पीसीआर परीक्षण गर्ने ल्याबहरु र अन्तर्राष्ट्रिय उडान भर्ने एअरलाइन्सहरुबीचको कमिसनको चक्करले यात्रुले दुःख पाउन थालेका छन् ।

दुवईले आफ्नो मुलुक प्रवेश गर्न खोज्नेसँग ४ घण्टाभित्र गरिएको पिसिआर रिपोर्टको नियम बनाएपछि अहिले अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधादर्जनभन्दा बढी अस्पताल तथा प्रयोगशालाहरुले आफ्ना शाखा ल्याबहरु स्थापना गरेका छन् । दुवईका लागि यात्रु बोक्ने एअरलाइन्स र विमानस्थल परिसरमा रहेका ल्याबबीच अनौपचारिक साँठगाँठ कायम भएको छ ।

सम्बन्धित एअरलाईन्सले आफूले तोकेको ल्याबबाटै पिसिआरको रिपोर्ट ल्याएमा मान्यता दिने, अन्यथा यात्रुलाई सास्ती दिन थालेपछि विमानस्थलभित्रै यात्रुले विवाद गरेका छन् । हिमालयन एअरलाइन्सबाट दुवई जान विमानस्थल परिसरमै रहेको स्टार अस्पतालको ल्याबबाट पिसिआर परीक्षणको रिपोर्ट बोकेर बोर्डिङ पास लिन गएका यात्रुलाई हालै एअरलाईन्सका कर्मचारीले बोर्डिङ पास नै दिएनन् ।

उनीहरुले क्रिष्टलको ल्याबाट रिपोर्ट लिएर आए मात्रै बोर्डिङ पास दिने भन्दै एअरलाईन्सका कर्मचारीले विवाद गरेपछि दुई पक्षबीच तनावको स्थिति सिर्जना भयो । विवाद बढ्ने देखेपछि विमानस्थल प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

(हे.तस्बीर)


विमानस्थल परिसरमा अल्का अस्पताल, बिएन्डबी अस्पताल, सुमेरु अस्पताल, स्टार अस्पताल, क्रिष्टललगायतले पिसिआर ल्याब स्थापना गरेका छन् ।
नेपाल र दुवईबीचको हवाई सेवा नेपालकै नेपाल एअरलाईन्स, हिमालयन एअरलाईन्ससहित अन्य धेरै विदेशी एअरलाईन्सहरुले दिँदै आएका छन् । दैनिक औसतमा दुई हजार नेपाली कामदार दुवई जाने गरेको अनुमान गरिन्छ । एक पिसिआर परीक्षणको शुल्क २ हजार लाग्ने गर्छ ।


दुवई सरकार झुक्याउने नेपालको परीक्षण

अहिले खाडी, मलेसिया वा अन्य मुलुक जान ४८ घण्टाअघिसम्मको कोरोना परीक्षण रिपोर्ट भए मान्य हुन्छ । तर दुवईले विमानस्थल प्रवेश गरिसकेपछिको र्यापिड पिसिआर परीक्षणको रिपोर्ट खोज्छ । त्रिभुवन विमानस्थलमा भएका ल्याबहरु र्यापिड पिसिआर परीक्षण गर्ने ल्याबहरु हुन् त रु मोलिक्युलर ल्याब सञ्चालन गर्दै आएका काठमाडौंका एक सञ्चालकले भने, ‘मेरो जानकारीमा भएअनुसार विमानस्थल परिसरमा खडा गरिएका ती सबै ल्याबहरु नर्मल पिसिआर ल्याब वा नमुना संकलन केन्द्र मात्रै हुन् । र्यापिड पिसिआर परीक्षणमा त नमुना लिनेबित्तिकै रिपोर्ट दिइन्छ ।

दुवईले ४ घण्टा अघिको रिपोर्ट खोज्नुको आशय हो – रिपोर्ट नेगेटिभ भएका मानिस सोझै दुवई ओर्लिउन् । कोरोना परीक्षणका लागि स्वाब (नमुना) दिएपछि अन्यत्र घुलमिल भएका नहोऊन् । त्रिभुवन विमानस्थलमा ल्याबहरुमा स्वाब दिएपछि छ घण्टासम्म कोही पनि विमानस्थल भित्रै आइसोलेट भएर बस्दैनन् । स्वाब दिइसकेपछि कोही आफन्त भेट्न जान्छन्, कोही रेष्टुरेन्ट पस्छन् । कोही सामान्य किनमेलमा लाग्छन् ।
दुवई सरकारले राखेको प्रावधानका कारण अहिले विमानस्थल परिसरमै ल्याब राखिएको छ । तर यसरी ल्याब राख्नुको उद्देश्य चाहिँ अपूर्ण बनिरहेको छ ।

पान पसल जस्ता ल्याब

भाइसरको जेनेटिक मेटेरियल पत्ता लगाउन राखिने मोलिक्युलर ल्याबहरु बढी संवेदनशील मानिन्छन् । यस्ता ल्याबका लागि चाहिले पूर्वाधार, जनशक्ति र अन्य वातावरण पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्डअनुसार हुनु पर्छ । प्रयोगशाला चलाइरहेका एक सञ्चालक भन्छन् – विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षण गर्ने भनिएको छ । तर त्यहाँ नर्मल परीक्षण भइरहेको छ । बाँकी के के मापदण्ड पूरा भएको होला, आफैं बुझौं ।

उनले थपे, ‘माइनस ८० डिग्री तापक्रम कायम हुने फ्रिज चाहिन्छ ।
पिसिआर परीक्षण गर्ने ल्याबहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिने सम्बिन्धी निर्देशिका – २०७७’ जारी गरेको छ ।

निर्देशिकाअनुसार ल्याब स्थापना गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आशयपत्र लिने, बोयोसेप्टी लेभल २ को पूर्वाधार तयार पार्ने, ल्याब तयार भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग अनुमतिका लागि निवेदन दिने प्रक्रिया पूरा गर्नु पर्छ ।


यस्ता ल्याबले पिसिआरका लागि बेग्ला बेग्लै तीन कोठा तयार गर्नु पर्छ । कोठाहरुको वातावरणीय अवस्थाको पनि परीक्षण हुनु पर्छ । २४ सै घण्टा ल्याब चलाउन विद्युत व्याक अब र सुरक्षा प्रबन्ध हुनु पर्छ ।


पीसीआर परीक्षणका लागि ल्याब खोल्नेले पुरा गर्नुपर्ने भौतिक पूर्वाधार हेर्नुहोस् तस्बीरमाः
तस्बीरः

नागरिक उड्डयन प्राधिकरण भन्छ– के कसरी राखेका छन्, कुनै जानकारी छैन

त्रिभुवन विमानस्थल परिसरमा ल्याब सञ्चालन हुन थालेको दुई अढाई महिना मात्रै भयो । मानिसहरुको आवागमन भइरहने स्थलमा त्यसै पनि यस्तो संवेदनशील ल्याबहरु राख्न पाइन्न । त्यसमाथि कोरोना परीक्षण पछि त स्वाब दिनेअरु आइसोलेसनमा बस्नु राम्रो मानिन्छ । यो सबै विमास्थल परिसरमा सम्भव छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति नलिएकाहरुले पनि ल्याब खोलेका छन् । अझ केही अस्पतालले त ल्याबको शाखा खोलेका छन् । ल्याबको शाखा खोल्ने कुनै कानुनी व्यवस्था पनि छैन ।

आखिर विमानस्थल परिसरमा यतिका ल्याब कसरी सञ्चालन भइरहेका छन् त रु नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री भन्छन्, ‘हामीले ३० वर्षका लागि लिजमा दिएको जमिनमा ती ल्याबहरु खुलेका छन् । ल्याबहरु विधिसम्मत छन् छैनन्, मापदण्ड पूरा गरेका छन् कि छैनन् रु भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निगरानी राख्नु पर्ने हो । ल्याब राखिएको विषयमा मैले पनि राम्रो बुझ्न चाहिँ पाइसकेको छैन ।’

ल्याबहरुको मनोमानीपछि छानविन समिति

त्रिभुवन विमानस्थलका ल्याबहरुले मापदण्डविपरीत क्रियाकलाप गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ । निर्देशनपछि प्रयोगशालाको टोलीले हालै अनुगमन गरेको छ । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले भने, ‘त्यहाँका ल्याबहरुमा त्रुटि भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयले छानविन गर्नू भन्ने निर्देशन दिएपछि हामी छानविन गरिरहेका छौं । अहिले कुनै पनि ल्याबलाई कुनै प्रकारको निर्देशन जारी गरिसकेका छैनौं । बाँकी कुरा छानविन समितिले प्रतिवेदन बुझाएपछि मात्रै स्पष्ट हुन्छ ।’