राजनीति

ओली–गगन भनाभन, गिनिज बुकको फण्डामा गगनको आपत्ति, सरकारको आश नगर्न गठबन्धनकै नेता दाबी


काठमाडौँ – सरकारले एकसय दिन बढी विताईसक्दा समेत गर्व गर्न सक्ने उपलब्धी दिन सकेको छैन । बरु पक्ष विपक्ष सरकारले गरेका उपलब्धी तौलिने होडमा आरोप प्रत्यारोप गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिने मधुमास पुरा गरेकै दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सरकार ठिक भएको दाबी गरे । अहिलेको सरकारको नाम लिदा पनि लाज लाग्ने भन्दै ओलीले देउवा नेतृत्वको सरकारले गरेका काम कुनैपनि उल्लेख गर्न लायक नभएको दाबी गरे । ओलीले आफ्नो सरकारले गरेका काम गिनिज बुक वल्र्ड रेकर्डमा दर्ज गराए आधा गिनिजबुक भरिने दाबी गरे ।

सरकारले सयदिने मधुमास पुरा गरेको अवसरमा वालुवाटारले उपलब्धीको २८ बुँदे फेहरिस्त पेश गर्दै रमाइरहेका बेला एमाले अध्यक्ष ओलीले आफु नेतृत्वको निवर्तमान सरकारका उपलब्धीको पहरै तानेका हुन् । तर दुबै सरकारका उपलब्धी तौलिने मोहमा नेताहरु आरोप÷प्रत्यारोपमा उत्रिएका छन् । ओलीको अभिव्यक्तिपछि काँग्रेस सांसद गगनकुमार थापाले ओली शैलीकै जवाफ फर्काए । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि अवसर प्राप्त भएपनि एउटा सन्काहा शासकको गिनिज बुकमा नाम लेखाउने रहरले गर्दा तीन बर्ष खेर गएको दाबी थापाको छ ।

एमाले वा काँग्रेस दुबैले नेतृत्व गरेका सरकारले कुनै अभूतपर्व काम गर्न सकेनन् । ओलीको शासनशैली र व्यवहारबाट आजित भएका जनता देउवाको सरकारमा समेत उस्तै अवस्था ब्यहोर्न बाध्य बने । उस्तै शैली, उस्तै रहर र उस्तै असक्षमताले देउवालाई ओलीकै पथमा अघि बढायो । फलतः सत्तागठबन्धन नेतृत्वको सरकारले जनताले पत्याउने एक उपलब्धी दिन सकेन । अहिले त गठबन्धनकै नेताहरुले यो सरकारले काम गर्न नसक्ने निष्कर्ष निकाल्न थालेका छन् ।

ओलीको असफलता पूर्तिका लागि बनेको सरकारले सरकार बनाउनै तीन महिना लगायो । भागबण्डामा न्यायालयलाई समेत मन्त्रीको पद बाँडेपछि भएको चर्काे विरोध थेग्न नसकेर ४० घण्टामै मन्त्रीले राजीनामा दिने अवस्था आयो । अन्ततः जनताले यो सरकारको सय दिनलाई अर्थ न ब्यर्थको रुपमा बुझेका छन् । देशभर अविरल बर्षाका कारण एक सय बढीले ज्यान गुमाएका छन् । किसानको न अन्नबाली बच्यो, न घरभित्रको खाद्यान्न । बरु राहत, उद्दार र पुनःस्थापना जस्ता कार्यमा सरकार भएको महशुस हुन पाएन । पीडितको घाउमा महलम लगाउन प्रधानमन्त्री देउवा स्थलगत अवलोकनमा गए । हेलिकप्टरबाट लाशहरु हेरे र फर्किदा एमसीसी पास गर्ने अठोट लिएर लाशमाथि पनि राजनीति गरे ।