राजनीति

जनता बाढी पहिरोमा पर्दा नेताहरु घुमफिर र एमसीसीमा व्यस्त


काठमाडौँ – बेमौसमी वर्षाले खेतमै भिजेका धानका बाला यतिवेला किसानको आँसुले थप भिजिरहेका छन् । बाढी पहिरोका कारण एक सय बढीले ज्यान गुमाए । तर, नेताहरु भने कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै आफ्नै कसरी मुड फ्रेस बनाउने, कसरी एमसीसी पास गर्ने भन्ने पक्षमा लागि परिरहेको छन् । यसलाई सर्वसाधारणले कसरी हेरेका छन् त ?

नेपालका नेताहरु चुनावका बेला जनताको पाउ पर्छन् । विजयी भए पछि भने खोला तर्यो लौरो विर्सियो जस्तै गर्छन् । अहिले वर्षात्का कारण भित्राउन ठिक्क पारेको धानबाली नष्ट भयो । खेती भित्राउने वेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानहरु मर्माहत भए । दशैं लगत्तै आएको बाढी पहिरोमा परी एक सयभन्ने बढी नेपालीले ज्यान गुमाए । किसानहरुलाई आगामी दिनमा भोकमरीमा पर्ने चिन्ताले सताएको छ ।

तर, नेताहरु जनताको दुख पिडामा साथ दिनुभन्दा घुमफिरमा रमाइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुगे र जिपलाइनमा रमाईलो गरे । यता देशका प्रधानमन्त्री शेर बहादुर देउवा पनि शुक्रबार बाढी, पहिरो र डुबानको क्षति अवलोकनका लागि सुदुरपश्चिम पुगेपनि विपद्मा परेका नागरिकलाई ढुक्क बनाउनु भन्दा एमसीसीकै पिरलो बढी देखाए ।

प्रधानमन्त्री तहबाट भएको भ्रमणमा पनि वर्षाले आहत किसानले राहतको अनुभव गर्न पाएनन् । बरु पीडितसंग नबोली काठमाडौं फर्किएका देउवाले राष्ट्रिय विवादमा रहेको एमसीसी पास गर्ने दाबी गरे । यसलाई कतिपयले लाशमाथि टेक्दा पनि देउवालाई एमसीसीको पिरलोले सताएको अर्थमा बुझेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली जनताको हितमा काम गर्छु भन्दै भाषण गर्दै हिड्छन् । तर, बेमौसमी वर्षाबाट आहत किसानलाई पार लगाउन उनले पनि सिन्को भाचेनन् ।

सरकारलाई टेको दिएको एकीकृत समाजवादी बागमती प्रदेशको मुख्यमन्त्री पाइने हो या हैन भन्ने राजनीतिक लेनदेनमै व्यस्थ छ । माधवकुमार नेपाल पनि जनताको दुखप्रति खासै सजग देखिएनन् । अरु नेताहरु त कता हो कता ? सत्ताको बागडोर नसम्हालुन्जेल जनताका लागि भन्ने र सरकारमा पुगिसकेपछि आफ्नै झोली भर्ने प्रवृत्ति पहिले पनि राम्ररी देखिसकिएकै हो । यसपटक पनि सोही प्रवृत्ति दोहोरियो । जसले सर्वसाधारणमा निराश पैदा गरेको छ ।

देशमा प्राकृतिक प्रकोप महाभूकम्प, बाढीपहिरो बन्द हडताल, नाकाबन्दी आदिको मार जनताले नै भोगि रहेका छन् । विपद्को बेला राज्य उदासीन हुन दुखद् हो । प्राकृतिक विपद्का कारण हरेक वर्ष सयौँको संख्यामा मानवीय र करोडौँको भौतिक क्षति भइरहेको छ । तर पनि सत्ता र शक्तिमा भएकाहरु गैह्रजिम्मेवार बन्ने बाहेक प्रकृतिक विपत्तीको क्षती कम गर्न कुनै दीर्घकालिन कदम चालेको देख्न पाइएको छैन ।