राजनीति

दश बुँदेले दश भाईलाई बनायो हरिबिजोग, एमाले फेरि रणमैदानमा, फरक पार्टी बनाउने कि माधवतिर जाने ?


काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन नहुने प्रस्ट संकेत दिएपछि एमालेभित्रको वातावरण थप विथोलिएको छ । सहमति कार्यान्वयन गर्न गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा घोषणा गरेका छन् । यता ओलीले एमाले एक ढिक्का रहेको दाबी गर्दै ढाकछोप गर्ने काम गरिरहेका छन् । १० बुँदे सहमतिलाई पार्टी एकताको बलियो आधारशिला बनाएर एमालेमै रोकिएका १० भाई नेतासहितको ठुलो पंक्तिलाई अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीले पुनः चिड्याउने काम गरेपछि एमाले पुनः रणमैदानमा छ । बुधबारको एक कार्यक्रममा अध्यक्ष ओलीले १० बुँदे सहमति अर्थहिन भएको अर्थ लगाउँदै एकतारे रटान लगाउनुको औचित्य नभएको दाबी गरेका थिए ।

त्यसलगत्तै उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति एकताको बिगुल भएको भन्दै ओलीलाई जवाफ फर्काए । रावलसहित उपमहासचिव घनश्याम भूसालसमेत ओलीको प्रतिवादमा उत्रिए । अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले त पार्टीको औपचारिक बैठकमा ओलीकै अघि आपत्ति जनाउँदै जवाफ माग गरे । तरपनि ओलीले १० बुँदे सहमति कार्यान्वयन नहुने संकेत प्रष्ट दोहो¥याएपछि शुक्रबार उपाध्यक्ष रावलले सहमतिका लागि बनेको कार्यदलको संयोजकबाटै राजीनामाको घोषणा गरेका छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अन्तरद्धन्द्ध चर्किएका बेला एमालेभित्रको अन्तरविरोध समाधानका लागि भन्दै गत जेठ २ गते १० सदस्यीय कार्यदल बनेको थियो । जसमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल कार्यदलको संयोजक बनेका थिए । कार्यदलभित्रको पटकपटकको झिनाझम्टीपछि असार २७ को मध्यराततिर १० सदस्यीय कार्यदलले १० बुँदे सहमति पारित ग¥यो, र त्यही सहमतिलाई पार्टी एकताको आधारशिला मानियो । अध्यक्ष ओलीले समेत कार्यान्वयनको तीब्र इच्छा व्यक्त गरे । तर सहमति कार्यान्वयनभन्दा ओलीकै ठाडो आदेशमा पार्टी चल्न थालेपछि भदौ २ मा नेपालले फरक पार्टीको घोषणा गरे । यता नेपाललाई फरक पार्टी बनाउने तहसम्म पु¥याएका १० भाइ नेता भने सहमति कार्यान्वयन नै पार्टी ड्यामेजबाट बचाउने अस्त्र मानेर एमालेमै रोकिए । सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीले भदौ ८ मा फेरि अर्काे ६ सदस्यीय कार्यदल बनाए र संयोजकको जिम्मा रावललाई दिए । सहमति कार्यान्वयन भन्दा कार्यदलमाथि कार्यदल थपेर अल्झाइरहेका ओलीले अहिले आएर १० बुँदे सहमति अर्थहिन भनेपछि विवादमात्रै बढेको छैन पुनः पार्टी फुटका तहमा पुगेको छ । तर अध्यक्ष ओलीले पार्टी एक ढिक्का रहेको रटान लगाएर गल्ती ढाकछोप गरिरहेका छन् ।

अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न जाने १० बुँदे सहमतिका पक्षधरहरुमाथि बदलाभाव प्रकट गरिरहेको देखिन्छ । यता ओलीलाई सरकारबाट हटाउन भूमिका खेलेका र माधवसंग छुट्टीएका १० भाई नेता पार्टीभित्र कमजोर रहेका आफ्नै भूमिकाले संकटमा फसेका छन् ।

१० औं राष्ट्रिय महाधिवेशन आउन एक महिना जति बाँकी छ । शनिबारदेखि वडा र पालिकास्तरको अधिवेशनको चटारो मच्चिएको छ । तर एमालेभित्र बढ्दै गएको विवादले थप समस्या निम्त्याएको मात्रै छैन ओलीको कार्यशैली र व्यबहारबाट शसंकित एमालेको असन्तुष्ट पक्षले अधिवेशन निष्पक्ष हुनेमै आश मारेको छ । अन्ततः पार्टीभित्र बाइपासमा पर्दै आएको असन्तुष्ट पक्ष कतिदिनसम्म एमालेमै रहन्छ, यही नै आशंको घेराभित्र छ ।