राजनीति

एमसीसीका विरोधीमाथि देउवाको आक्रोश, ‘सित्तैमा दिएको पैसा नलिएर हद भइसक्यो’


काठमाडौँ – एमसीसी, अर्थात अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन । नेपालमा आएका वैदेशिक सहयताको इतिहास हेर्दा सबैभन्दा धेरै विवादित सम्झौता हो । पक्ष/विपक्ष आ–आफ्नै कित्तामा बाँडिएर एमसीसी बारेको वकालत गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एमसीसी पास गर्ने अठोट गरेका छन् । एमसिसी लागू हुँदै गरेका वा भएका देशहरूमध्ये न त नेपाल पहिलो मुलुक हो, न अन्तिम नै । तर पनि एमसिसीको बहसले सिंगो मुलुक र समाज तरंगित छ । एमसीसीकै विषयले मुलुक पक्ष विपक्षमा विभाजित बनेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नेपर्ने अठोट पुनः अघि सारेका छन् । शुक्रबार बाढी, पहिरो र डुबानको क्षति अवलोकनका लागि सुदुरपश्चिम पुगेका देउवाले एमसीसी पास गर्नुपर्ने पक्षमा आफु रहेको र यसका सम्बन्धमा झुटा प्रचार गरिएको भन्दै आक्रोशसमेत प्रकट गरे । उनले एमसीसी नेपालको कानुनभन्दा माथि नभएकाले पास गर्नुपर्ने दाबीसमेत गरेका छन् ।

प्रधानमन्त्रीले नेतृत्व गरेको सत्ता गठबन्धनभित्रै विवादमा रहेको एमसीसी पास हुनुपर्ने देउवाको अठोट नयाँ भने होइन । सरकार बाहिर रहेर पनि नेपालमा एमसीसी लागु गर्ने वकालत देउवाले गर्दै आएका थिए । आफ्नै नेतृत्वको सरकारले हस्ताक्षर गरेको यस सम्झौतालाई पास गर्नुनै देउवाको अन्तिम लक्ष्य जस्तो बनेको छ । जसको झल्को शुक्रबार दिएको अभिव्यक्तिमा समेत देखिन्छ । सत्ता गठबन्धनभित्रै मतभेद देखिएका बेला देउवाले प्रमुख प्रतिपक्ष दलको साथ समेत खोजिरहेका छन् । तर एमसीसीका विषयमा अहिले प्रमुख प्रतिपक्ष नबोल्ने अडानमा छ ।

एमसीसी सम्झौताबारे राजनीतिक नेतृत्व पक्ष विपक्षमा विभाजित बनेर जनता गुमराहमा परिरहेका बेला यस सम्बन्धीको विषय विज्ञहरु समेत विभाजित छन् । कोही एमसीसी संसोधन नभई अस्वीकार गर्नुपर्ने मत राख्दै आएका छन् भने कोही शंका उपशंका नलिएर पास गर्न जोड दिइरहेका छन् । जम्माजम्मी ६० अर्ब जतिको यो सहयोग नेपाललाई नलिइ नहुनेछ । अनि, अमेरिकालाई पनि नदिई नहुनेछ । लिनेलाई भन्दा दिनेलाई हतारो हुन थालेपछि एमसीसीमा पक्कै केही त छ भन्ने शंकाको सुविधाले सम्झौता थप विवादित बनेको छ ।