राजनीति

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ ।

शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आज १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ ।

बिहीबारको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए । अध्यक्ष ओलीले माधवकुमार नेपाललगायतका नेताहरुले पार्टी विभाजन गरिसकेको अवस्थामा अब १० बुँदेको एकतारे बजाउनुको अर्थ नरहेको बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो ।

यस्तै‚ बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । महाधिवेशनका लागि बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको थियो। एमालेले वडास्तरमा कात्तिक ६ र स्थानीय तह स्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ ।