समाचार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


काठमाडौँ – कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा पहिरो सखेपछि सडक अवरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने बताइएको छ ।

यस्तै‚ रिडी–रुद्रबेनी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा बिहीबार साँझ सडकमाथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।