राजनीति

एमाले महाधिवेशनको स्थान तय, मंसिर १०–१२ सम्म चल्ने


काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । यस अघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गर्नु भएको थियो । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । साथै, १० बुँदे सहमतिका विषयमा शुक्रबारको बैठकमा छलफल हुने बताइएको छ । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् । एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ ।