काठमाडौँ – नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताईरीको भनाईलाई आधार मान्ने हो भने एन्फासँगको उनको सम्झौता २२ अक्टोबरमा सकिँदैछ । उनले नेपाली टिम सम्हाल्दा प्रशंसा, विवाद र सफलता सबैको अनुभव गरे । अब्दुल्लाहा अल्मुताईरी, नेपालमा विगत ८–९ महिना देखि यो नाम सबैभन्दा धेरै चर्चामा रह्यो । सामाजिक सञ्जाल होस् या मुलधारका मिडिया सबैमा उनकै चर्चा चुलियो । उनको अभिव्यक्तिले होस् या उनले गर्ने कार्यले, सामाजिक सञ्जालमा गरेको पोष्ट नै किन नहोस् समाचारको मुख्य विषय बन्यो । चुरोटको विषयदेखि राजीनामाको विषयसम्मले तहल्का नै पिट्यो । यो अवधिमा नेपाली फुटबलमा खासै चासो नराख्नेले पनि अल्मुताईरीको समाचार चाख दिएर हेरे, सुने र पढे । कहिले विवाद,कहिले प्रशंसा त कहिले सफलताले उनलाई समाचारको मुख्य केन्द्र बनाई नै रह्यो ।
यसैबीचमा नेपाली राष्ट्रिय फुटबल टोलीका १२ औं प्रशिक्षकको रुपमा जिम्मा सम्हालेका अल्मुताईरीले नेपाललाई ऐतिहासिक सफता दिलाए । साफ सुरु भएको २८ वर्षपछि नेपालले साफको फाइनल खेल्यो । यो नै नेपाली फुटबलको अहिले सम्मको सबैभन्दा ठूलो सफलता हो । साफको फाइनल खेल्ने नेपालीहरुको प्रतीक्षा उनले पुरा गरे । नेपालीलाइ सफलता दिलाएका उनका अनुसार अखिल नेपाल फुटबल महासंघसँगको सम्झौता भोली सकिँदै छ । यदि उनको भनाईलाई आधार मान्ने हो भने भोली देखि नेपाली फुटबल प्रशिक्षक विहीन हुने छ ।
हालै सम्पन्न साफको फाइनल खेल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने अल्मुताईरीले बताएका थिए । राउन्ड रोविनअन्तर्गत अन्तिम खेल बंगलादेशसँग १–१ को बराबरी खेलेसँगै पत्रकारहरुसँग कुरा गर्दै आफूले प्रशिक्षकबाट पहिले नै राजीनमा दिएको बताएका थिए । तर, फाइनलमा भारतसँग ३–० काे हारपछि भने उनले फरक अभिव्यक्ति दिए । नेपाललाई आफ्नो मुटुबाट कसैले हटाउन नसक्ने र दुई साताको आरामपछि निर्णय लिने बताए । उनले अक्टोबर २२ सम्म सम्झौता रहेको र नयाँ प्रस्ताव आए आफू सकारात्मक रहेको स्प्रष्ट पारे । विभिन्न विवादकैबीच नेपाललाई फाइनल खेलाएका उनकाे विवादकाे निष्कर्ष अझै टुंगिएको छैन । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको विवाद र पत्रकारहरुसँगको विवादको अहिलेसम्म खास कुरा बाहिर आएको छैन । उनले भने झै राजीनामा दिनुको कारण वरिष्ठ उपाध्यक्ष नै हुन् कि त्यसबाहेक अन्य कुनै कारण छ ? एन्फाले सत्य कुरा फ्यानहरुलाई जानकारी गराउनु पर्ने पूर्व कप्तान राजुकाजी शाक्यले बताए का छन् ।
अलमुताइरी नेपालकै सामाजिक सञ्जालमा चर्चित पात्र मध्येका एकमा पर्छन् । उनी आफ्नो व्यक्तिगत समय समर्थक माझ रहेर व्यतीत गरेकै कारण नेपाली फुटबल समर्थकमाझ निकै प्रिय छन् । उनले नेपाली फुटबलमा दिलाएको सफलताले पनि उनी झन् सबैको प्रिय बनेका छन् । नेपाली फुटबल र नेपाली फुटबल प्रशंसकहरुले सायदै कसैले बिर्सेलान् । उनको सकारात्मक पक्षहरु धेरै छन् । उसले खेलाडीलाई एकताबद्ध गराएका छन् । नेपाली खेलाडीमा हौसला दिएका छन् । नेपाली फुटबलमा केही राम्रो गरौं भन्ने उत्साह पनि देखिन्छ । यसरी सधैभरी विवादमा परिरहनाले न त नेपाली फुटबललाई फाइदा छ न त अलमुताइरीलाई नै ।
नेपाली फुटबल फ्यानलाई फुटबलको मात्रै जानकारी होइन फुटबललाई हेर्ने ठूलो निकाय एन्फा भित्र भईरहेको गतिविधिको पनि जानकार हुन जरुरी छ । एन्फामा भएको राजनीतिको बारेमा नेपाली फुटबल प्रशंसकले पनि बुझ्न र थाहा पाउन आवश्यक छ । के सही हो र को गलत भन्ने । फुटबल विकास चाहने हो भने आँखा चिम्लेर एक जनालाई मात्रै विश्वास गर्नु भुल हुनसक्छ । एन्फसँग सम्बन्धित प्रत्येक व्यक्तिको सही गलत छुट्याउने ल्याकत फ्यानहरुले राख्नुपर्छ । चाहे त्यो पदाधिकारी होस्,चाहे प्रशिक्षक नै किन नहोस् ।
प्रतिक्रिया