राजनीति

प्रधानमन्त्री देउवा सुदूरपश्चिमको भ्रमणमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौँबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् ।

ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर उनले खाना खानेछन् । दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ ।

जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा(चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ ।

धनगढीबाट उनी शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ ।