समाचार

बाढीपहिरो र डुबानले कहालीलाग्दो क्षति, सरकारको राहत प्याकेज सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – लगातार तीनदेखि परेको बर्षातका देशभर बाढी, पहिरो र डुबानमा परी करिब पाँच दर्जन नागरिकले ज्यान गुमाएको छन् भने उत्तिकै संख्यामा वेपत्ता बनेका छन् । निरन्तरको बर्षाले अवस्था नाजुक बन्दै गएपनि राहत, उद्दार र पुनःस्थापनामा सरकारी उपस्थिति शून्य सरह बनेको छ ।

सुदुरपश्चिमको बझाङमा एउटै गाउँका २४ जना वेपत्ता भएको दुईदिन वित्यो । निरन्तरको बेमौषमी बर्षाका कारण थलरा गाउँपालिका –४ डिक्लामा सिंगै गाउँका २४ जना सोमबार राती वेपत्ता भएपनि उनीहरुको उद्दार र मृतकको पहिचान गर्न सरकारी पक्ष उपस्थित भएको छैन । तीनदिनदेखिको निरन्तरको बर्षाका कारण बझाङका ४ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । बझाङसहित सुदुरपश्चिमका अन्य जिल्लामा समेत मृतक र वेपत्ताको संख्या उस्तै छ ।

डोटीमा मात्रै १४ जनाले ज्यान गुमाएका छन् । कर्णालीका विभिन्न जिल्लामा ८ जनाले ज्यान गुमाएका छन् । हुम्लामा एकै परिवारका ६ जनाले ज्यान गुमाएका छन् । पाँचथरमा मात्रै २७ जनाले बाढी पहिरोमा परि ज्यान गुमाएका छन् । जसमा मिक्लोजोङ गाउँपालिकाका मात्रै २१ जना रहेका छन् । इलाममा १३ जनाले ज्यान गुमाएका छन् । धनकुटामा सात जनाले मृत्यु भएको छ भने सुनसरीमा दुई जनाको मृत्यु भएको छ । संखुवासभामा पहिरोमा परी एकजनाको ज्यान गएको छ । बुधबार बेलुकासम्म देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका कारण ५७ ले ज्यान गुमाएका छन् भने, २५ जना वेपत्ता छन् । २८ जना घाइतेहरु छन् ।

हजारभन्दा धेरै संख्यामा परिवार विस्थापनमा परेका छन् । ६ सय ६९ घर डुबानमा परेका छन् । देश नै संकटमा परेको बेला उद्धार र व्यवस्थापनमा सरकार उच्च सक्रीय बन्न नसकेको पीडितहरुको गुनासो छ । बरु सरकारी उपस्थिति र आवश्यक समन्वयमै राहत, उद्दार र पुनःस्थापना कार्य अल्झिएको छ ।

बुधबार मात्रै सरकारले मन्त्रिपरिषद् बैठकमार्फत परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख र एकजना भन्दा धेरैको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको छ ।

कुनै छनक बिनै आइतबार रातिदेखि सुरु भएको बेमौसमी वर्षाले मानविय क्षति बाहेक पूर्वदेखि पश्चिमसम्मको धानबाली सखाप पारेको छ । काटेको धान समेत भित्र्याउन नपाउँदा किसान चिन्तित बनेका छन् । धानबाली र अन्य बाली नष्ट भएपछि किसानका लागि खानै थालेको गाँस खोसिए जस्तो भएको छ । महाकाली, सेती र कर्णाली नदीको बाढीले सयौं मानिस विस्थापित भएका छन ।