देश

हेर्दा हेर्दै धानखेत विशाल नदी र ताल बन्यो, कृषकको चित्कार सुनिदिने कोही भएनन् (भिडियोसहित)


काठमाडौँ – वर्षात्का कारण कैलाली, कञ्चनपुरमा भित्राउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान बाली सखाप भएपछि किसान चिन्तित वनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होईन नदीले बगाएको समेत छ । दर्शकहरु तपाईलाई दृश्य देख्दा लाग्न सक्छ यो कुनै नदी हो । तर होइन यो त कञ्चनपुरका फाँटिलो खेत मैदान हो । केही दिन पहिलेसम्म लहलह झुलेका धानहरु कृषकका घरमा भित्रिन नपाई यसरी खेतमै नदी बनेर धानका मुठाहरु बगिरहेका छन् ।
बौलाह बेमौसमी बर्षाले तराईका किसानहरु आँखे अगाडी तीन महिनाको दुख मेहेनत र पसिनाको फल बगाएपछि मुर्छित बनेका छन् ।

झरीसंगै उनीहरुका आँखाबाट खसेका आँशु पनि नदीमा मिसिएका छन् । अकल्पनीय विपत्तिमा यी किसानहरु महासंकटमा परेका छन् । विशाल ताल झेँ देखिने यी फाँटमा न उनीहरु आफ्नो खेत पहिल्याउन सक्ने अवस्थामा छन् न धानको मुठा सम्हाल्न सक्ने अवस्थामा । र पनि थोरबहुत साहस जुटाएर केही केही धानका मुठाहरु संगाल्ने कोसिसमा छन् । सम्पूर्ण धानबाली नष्ट भएपछि किसनाहरुको पीडा अब बालबच्चा र आफू कसरी बाँच्ने पीरमा परिसकेका छन् ।

बर्षात्का कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान सखाप बनेका छन् । आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई न दिनमा भोक छ न रातमा निन्द्रा छ । वर्षाले बालीमा क्षति पु¥याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालय सँग समन्वय गरी किसानको अवस्था र वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ ।

स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । विवरण सङ्कलन पछि आवश्यक क्षर्तीपूती र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताए । सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ ।