राजनीति

हामीले चाहेमा यो सरकार एक हप्ता भित्रै ढाल्न सक्छौं : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्ने बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले भन्नु भयो, “अहिले पनि यो सरकार ढाल्दिउ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाल्दिउ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढाल्दिन्छौं । लोभीपापीहरु छन, दिए भईगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ । अरुले भन्दा हामी दिन सक्छौ नि । अरुले पाँच विलो लगाउनु पर्छ । हामीलाई त के छ र सिंगै आफू हो । प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै । हामी त त्यो गर्न सक्छौ नि । अरुले त्यो गर्न सक्छ ? काँग्रेसले माधवलाई चालिस प्रतिशत देओस त ? प्रचण्डलाई देओस त ४० प्रतिशत । सक्दैन । तर हाम्रो अभिष्ट चाँही सरकार बनाउने होईन । हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौं । हामी सरकार बनाउने कुरा गरिराखेका छौं भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौं ।”

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउनु भयो । उहाँले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताउनु भयो ।