राजनीति

मुख्यमन्त्री फेर्ने तयारीमा सत्ता गठबन्धन, को–को बन्दैछन् मुख्यमन्त्री ?


काठमाडौँ – लामो रस्साकस्सी पछि केन्द्रमा मन्त्रीपरिषद विस्तार गर्न सफल गठबन्धन सरकारले प्रदेशमा पनि सरकार फेरबदलको तयारी गरेको छ । नेकपा एमालेमा विभाजन आएपछि अल्पमतमा परेको प्रदेश १ र बागमती प्रदेशमा यहि साता नयाँ सरकार गठन गर्ने तयारीमा सत्ता गठबन्धन जुटेको छ ।

नागरिकले जनमत सहित पाँच वर्षका लागि स्थायी सरकार चुने पनि राजनीतिक दल र नेताहरुको स्वार्थका कारण मुलुक पुन एकपटक राजनीतिक संकटबाट गुज्रिरहेको छ । नागरिकको जनमतलाई दलहरुले आफ्नो दलगत र पदिय स्वार्थमा बलि चढाए । तर नेताहरुमा लज्जाबोध पटक्कै भएन बरु थोरै समयकै लागि भए पनि पद बस्न विभिन्न बखेडा झिकेर देशको राजनीति गिजोल्न नेताहरु उद्दत देखिए ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्चको परमादेशले गठबन्धन भएको सरकार अहिले प्रदेशको नेतृत्व फेरबदलमा केन्द्रित छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेसँगै विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले यी दुई प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरुको दौडधुप शुरु भएको हो ।

दल विभाजनअघि एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री शाक्यले असोज २४ मा नै विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरिए पनि मत विभाजन प्रक्रिया कात्तिक ४ गतेसम्मका लागि स्थागित गरिएको छ । फलत अल्पमतमा परेकी शाक्य यहि साता पदमुक्त हुने सम्भावना छ ।

यससँगै गठबन्धनभित्र मुख्यमन्त्रीलाई लिएर खिचातानी सुरु भएको छ । नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे र कांग्रेसका बागमति संसदीय दलका नेता समेत रहेका इन्द्रबहादुर बानियाँको दावेदारी चर्चामा छ ।

मन्त्रीपरिषद विस्तारदेखि नै पद वाँडफाडमा हम्मे परिरहेका बेला वाग्मती प्रदेशको मुख्यमन्त्रीमा देउवाको विश्वासिलो पात्र इन्द्र बानिया वा माधव नेपालका विश्वास पात्र राजेन्द्र पाण्डेमध्ये कसले वाग्मती प्रदेशको मुख्यमन्त्री हत्याउछ भन्ने विषय चासोपूर्ण बनेको छ ।

मुख्यमन्त्रीका विषयमा गठबन्धनभित्रका नेताहरुको आ–आफ्नौ दावी छ । कांग्रेस र एकिकृत समाजवादी दुवै दलले मुख्यमन्त्री आफ्नै दलबाट हुने दावी गरेका छन । यस्तै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि विश्वासको मत लिनुपर्ने मिति पुगिसकेको छ । प्रदेश १ को प्रदेश सभाको बैठक यही कात्तिक ५ गतेका लागि बोलाइएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री आचार्या पनि पदमुत हुने निश्चितप्राय छ । यहाँ पनि गठबन्धनको तर्फबाट को मुख्यमन्त्री बन्नछ भन्ने निश्चित छैन । झन्डै तीन महिनाको रस्साकस्सी बल्लतल्ल मन्त्रीपरिषदलाई पूर्णता दिएका देउवालाई बागमति र प्रदेश १ को मुख्यमन्त्रीे विवाद मिलाउन फलामको चिउरा चपाएसरी हुने निश्चित छ ।