राजनीति

नेपाली राजदूत आचार्य र सोनिया गान्धीबीच भेटर्वात


काठमाडौँ – भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ । स्वदेश फर्कन लागेका राजदूत आचार्यले श्रीमती गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन् ।

श्रीमती गान्धीकै निवासमा आज (मंगलबार) बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उल्लेख गरेका छन् ।

उनले विशेषगरि नेपाल–भारतबीच रहेको ऐतिहासिक मैत्री सम्बन्धमाथि कुराकानी भएको उल्लेख गरेका छन् । राजदूत आचार्यले गएको शनिबार भारतका विदेश राज्यमन्त्री भी मुरलिधरनसँग बिदाई भेट गरेका थिए । त्यसपहिले उनले भारतका विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिदाई भेटघाट गरेका थिए ।

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा फिर्ता बोलाइएका राजदूतको सूचीमा आचार्य पनि परेका हुन् ।