समाचार

१२ दिनपछि रुबी खानले तोडिन् अनशन


काठमाडौँ – सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छन् ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् । माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

त्यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो । गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।