काठमाडौँ – साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै बनेको छ । सधै झै यस पटक पनि नेपालको सामु भारत पर्खाल बनेर उभियो । नेपाली फुटबलका लागि शनिबार निकै अर्थपूर्ण दिन थियो । नेपालले साफको इतिहासमा नै पहिलो पटक फाइनल खेल खेल्दै थियो । प्रतिष्पर्धि थियो, नेपालसँग सीमा जोडिएको छिमेकी राष्ट्र भारत । रोटीवेटी रीतिरिवाज, पर्व,संस्कृति सबै मिल्दोजुँदो भए पनि भारतसँग नेपालको हरेका क्षेत्रमा बदलाको भावना रहिआएको छ । भारतको हरेक क्षेत्रमा हस्तक्षेप र हेपाहा प्रवृत्तिका कारण नेपालीहरू भारतसँग रुष्ट हुन्छन् । चाहे जुनसुकै प्रतियोगिता होस्,भारतसँग नेपाल कहिल्यै हार्न चाहदैन । भारतसँगको हार नेपाललाई कदापि स्वीकार्य हुँदैन । तर, अफसोस नेपालीको बाध्यता भारतसँगको खेलमा सधैं जसो पराजय नै भोग्नु पर्छ ।
हिजो शनिबार साफ च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि रक्षा गर्ने चाहाना त थियो नै तर त्योभन्दा बढी हेपाहा प्रवृत्तिको हारमा आत्मसन्तुष्टि हुने अवसर थियो । यदि हिजोको खेलमा भारतमाथि जित हासिल गरेको भए उपाधि उचालेको भन्दा बढी त्यो जितले महत्व राख्ने थियो ।
नेपालले हिजो भारतसँग साफको फाइनलमा भारतसँग ३–० गोल अन्तरले हार व्योहोर्नु पर्याे । माल्दिभ्सको राजधानी मालेमा सम्पन्न १३ औं साफ च्याम्पियनसिपमा पहिलो हाफ बराबरी खेलको नेपालले दोस्रो हाफको सुरुवाती केही मिनेट सम्हालिन नसक्दा एक मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । ठूलो वर्षाले प्रभावित पारेको खेलको ४९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलमा भारतले अग्रता बनायो । त्यसको एक मिनेट बित्दा नबित्दा सुरेश सिंह वाङजामले फेरि बललाई जाली चुमाए । खेल सकिने अतिरिक्त समयमा सहल अब्दुल समादले गोल गर्दै नेपालको उपाधि रक्षामा बाधक बनेर उभिए । नेपाललाई अर्काे एक चोट दिएको भारतले आठ पटक साफको उपाधि आफ्नो नाममा गर्न सफल भयो । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो ।
नेपाल र भारतबीच अहिलेसम्म २३ पटक भेट भएको छ । जसमा भारतले नेपाललाई मात खुवाउँदै आएको छ । १६ पटक भारतले जित्दा पाँच खेल बराबरीमा सकिएको छ भने नेपालको नाममा जम्मा दुई जित मात्र छ । पछिल्लो पटक नेपालले भारतलाई आठ वर्ष अगाडी काठमाडौँमा हराएको थियो । २०१३ को साफमा २–१ गोलले हराए यता भारतमाथि नेपालले जित हात पार्न सकेको छैन । त्यो क्रमले हिजो पनि निरन्तरता पायो ।
यसअघिको खेलहरूमा हारको जिम्मा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताईरीले आफूले लिन र नेपालीसँग माफी माग्ने गरेका थिए । तर अल्मुताईरीले यस पटक माफी माग्न भने चाहेनन् । हिजोको खेलमा नेपालले हार्नुको कारण नै फाइनलको अनुभव नरहेको जनाएका छन् । एक मिनेटकोबीचमा दुई गोल खानु नै नेपालको हारको कारण भएको उनको बुझाई थियो ।
भारतका अगाडी लम्पसार परेका नेताहरूबाट थाकिसकेका नेपालीहरू खेलको मार्फतबाट भए पनि भारतको पराजय हेर्न चाहन्छन् । तर यसमा पनि लगातरको नतीजाले नेपालीहरू निराश बनेका छन् । हुन त नेपालका लागि साफको फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । यसलाई भने नेपालीले आत्मसात् गर्नै पर्छ ।
प्रतिक्रिया