राजनीति

कांग्रेसको पौडेल पक्षले सकेन सभापतिको एकल उम्मेद्वार छान्न, देउवा ढुक्क


काठमाडौँ – शुरुवाति जिल्ला अधिवेशनमा आफ्नो पक्षमा माहोल बनेपछि नेपाली काँग्रेसको पौडेल पक्षमा उत्साह छ । हालसम्मको नजिता अनुसार १० जिल्लामध्ये ६ जिल्लामा पौडेल पक्षले नेतृत्व हत्याएको छ । तर केन्द्रीय नेताहरुमा नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसक्दा पौडेल पक्षमा अलमल कायमै छ ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि विवादितबाहेकका जिल्लामा वडा अधिवेशन र पालिका अधिवेशन टुङगीएसँगै हिमाली जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हालसम्म सम्पन्न भएका १० हिमाली जिल्लामा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ४ जिल्लामा नेतृत्व हत्याएको छ भने ६ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएको छ । कतै सर्वसम्मत त कतै निर्वाचनका माध्यमबाट नेतृत्व चुनिएका छन् । हालसम्मको नजितालाई आधार मान्ने हो भने, पौडल पक्षले पकड जमाएको छ । जसले केन्द्रीय नेतृत्व परिवर्तनमै प्रभाव पार्ने भएपछि पौडेल पक्षमा उत्साह जागेको छ । तर पौडेल पक्षमा सभापतिका आकांक्षी धेरै रहेकोले एकल उम्मेद्वार चयन गर्न फलामको चिउरा चपाएसरी हुने निश्चित छ । काँग्रेसमा सभापति नै प्रधानमन्त्री बन्ने परम्परा भएकोले नेताहरुमा नेतृत्वमा पुग्न मरिहत्ये गर्ने गरेको मकतिपय नेताको बुझाइ रहेको छ ।

जिल्लामा उत्साहजनक सहभागिता देखिएका बेला केन्द्रमा भने नेताहरु रणभूल्लमा परेका छन् । सभापति देउवाविरुद्ध साझा उम्मेद्वार तय गर्ने प्रस्ताव महिनौदेखि चल्दै आएपनि कसले कसैलाई छाडेर जाने अझै टुङगीएको छैन् । गत भदौ १७ मा सभापतिका चार मूख्य दाबेदार एकै मञ्चमा उभिएर साझा उम्मेद्वार बनाउने घोषणा गरेका थिए । तर एक महिना बढी समय बितिसक्दा समेत केन्द्रीय नेतृत्वबीच सहमति नहँुदा तल्लोतहका कार्यकर्ता अन्योलमा छन् ।बरु चार जना नै देउवाविरुद्ध उभिने प्रयासले काँग्रेसमा गुटको संस्थागत विकास भएको विश्लेषण भइरहेका छन् ।

सभापति देउवाविरुद्ध उभिन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला तछाँडमछाँड गरिरहेका छन् । साथ छोडेर सभापति देउवाविरुद्ध उत्रिएका उपसभापति विमलेन्द्र निधिसमेत सभापतिको उम्मेद्वार हुन् । यसैकारण पौडेल पक्षका चारमध्ये शशांक र प्रकाशमानबीच उनको हिमचिम चलिरहेकै छ । उता महामन्त्रीका उम्मेद्वार गगन थापाले साथ छाडेका कृष्णप्रसाद सिटौलासमेत कसलाई समर्थन गर्ने भन्नेमा अलमलमै छन् । तथापी कार्यबाहक सभापति मागेर देउवासंग मिल्न उनलाई दबाव परिरहेको छ । विपक्षीहरु ठोस रणनीतिका साथ अघि नआँउदा देउवासमेत संशयमा छन् ।

कसले कसको अस्तित्व स्वीकार्ने र अघि बढ्ने भन्ने प्रश्न नै काँग्रेसमा अह्म बनेको छ । जसमध्ये पौडेल समुहभित्र समेत उम्मेद्वार व्यवस्थापन थप जटिल बन्दै जाने र कित्ता फेरबदलसम्मको सम्भावनामाथि आशंका गरिएको छ । पछिल्लो समय मन्त्री बन्न नपाएका केही प्रभावशाली नेताहरुले नै गुट परिवर्तनको चेतावनी दिने गरेकोले काँग्रेस महाधिवेशन थप रोचक बन्ने देखिएको छ ।