काठमाडौँ – असोज २६ गतेदेखि बन्दभएको शेयर बजार आजबाट खुल्दै छ । दशैंको सार्वजनिक बिदासँगै बन्दभएको बजार आज पाँच दिनपछि खुल्न लागेको हो ।
आज असोजको अन्तिम दिन भएकाले शेयर बजारलाई प्रभाव पर्ने ब्याजदर पनि भोलिबाट लागु हुनेगरी बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गरिरहेका छन् । ब्याजदर प्रकाशित गरेको मध्ये सानिमा बैंकले निक्षेपको ब्याजदर घटाउँदा अरू बैंकहरूले भने बढाएका छन् । सानिमा बैंकले भने असोज मसान्तमा प्रकाशित ब्याजदरमा १ प्रतिशत बिन्दुले घटाएर मुद्दति निक्षेपको ब्याजदर ८.५१ प्रतिशतमा झारेको छ ।
यसबाहेक सरकारी लगानीको कृषि विकास बैंकले मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ८.५५ प्रतिशत र सरकारी लगानीकै नेपाल बैंकले भने ब्याजदर यथावत् राखेको छ ।
नयाँ ब्याजदर सार्वजनिक गरेका वित्त कम्पनीले भने डबल डिजिटमा निक्षेपको ब्याजदर पुर्याएका छन् । समृद्धि फाईनान्सले ११ प्रतिशत र पोखरा फाईनान्सले १०.७५ प्रतिशतसम्म ब्याज दिने भएका छन् । केही बैंकबाहेक अधिकांशले ब्याजदर बढाउँदा अझै पनि ब्याजदर बढ्ने संकेत देखिन्छ ।
अधिकांश बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्न बाँकी नै रहेको छ । बढ्दो ब्याजदर र लगानिकर्ता फेस्टिभ मुडमै रहेको अवस्थामा दसैँपछि सेयर बजार आजबाट खुल्न लागेको हो ।
प्रतिक्रिया