नेपालले आज भारतविरुद्ध साफ च्याम्पियनशिपको फाइनल खेल खेल्दैछ । सो खेल नेपाली समयअनुसार राती पौने ९ बजे सुरु हुने छ । नेपालले नेपाली फुटबल इतिहसमा नै अहिलेसम्मकै सबै भन्दा ठूलो उपलब्धि हात पारेको छ । नेपाल माल्दिभ्सको राजधानी मालेमा जारी १३ औं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को फाइनलमा प्रवेश गरेसँगै नेपाली फुटबलले यो ठूलो उपलब्धि हात पारेको हो । पाँच देश सम्मिलित प्रतियोगितामा नेपाल यसअघि भएको १२ औं साफसम्म पनि फाइनल पुग्न सकेको थिएन । राउण्ड रोविनको आधारमा खेलाइएको साफमा बुधबार नेपालले बंगलादेशलसँग बराबरी खेल्दै फाइनलको टिकट काटेको थियोे ।
नेपालले साफका सबैभन्दा सफल र बलियो टिम भारतसँग आज उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । साफमा भारतलाई यस अर्थमा सफल टिम मान्ने सकिन्छ कि १२ औं संस्करण सम्पन्न भइसक्दा ११ पटक फाइनल खेलिसकेको छ भने उपाधिमा आफ्नो नाम सात पटक लेखाइसकेको छ । आज हुने फाइनलमा भारतलाई यसको फाइदा पक्कै मिल्ने छ । यता पहिलो पटक फाइनल खेल्न लागेको नेपालको आत्मविश्वास भने एकदमै उच्च देखिन्छ ।
आजको खेलमा दुवै टिमका मुख्य खेलाडीहरु भने उपलब्ध हुने छैनन् । नेपालका मुख्य खेलाडी अञ्जन विष्टले आजको फाइनल गुमाउने छन् । उनले भारत र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड खाएपछि नियनसंगत स्वत प्रतिबन्धन परे । त्यस्तै यता भारतका पहिलो रोजाईका तीन खेलाडीले पनि फाइनल गुमाउने भएका छन् । फरवार्ड फारुक चौधरी घाइते भएका छन् भने अर्का आक्रमक मिडफिल्डर ब्राण्डन फर्नाण्डेज पनि घाइते छन् । यता रक्षात्मक पङ्क्तिका मुख्य खेलाडी शुभाशिष बोशले पनि फाइनल खेल्न पाउने छैनन् । उनले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएसँगै फाइनल गुमाएका हुन् । बोशले नेपालविरुद्धको खेलमा पनि पहेंलो कार्ड पाएका थिए ।
आजको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका प्रशिक्षक इगोर स्टिमाचले पनि गुमाउने छन् । दुवै प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न पाउने छैनन् । अल्मुताइरीले लिग चरणका दुई खेलमा पहेलो कार्ड खाएका थिए भने स्तिमाचले अन्तिम खेलमा रातो कार्ड खाएका थिए । जसका कारण उनीहरू ‘टेक्निकल एरिया’ बस्न नपाउने भएका हुन् ।
तर, अल्मुताईरीले नेपाली फुटबलमा आफूलाई सफल प्रशिक्षकको रुपमा भने सावित गरिसकेका छन् । १३ औं संस्करणसम्म आइपुग्दा स्वदेशी र विदेशी गरेरे जम्मा १२ जना प्रशिक्षकले नेपाली टोलीको कमाण्ड सम्हालिसकेका छन् । तर, नेपाल र नेपालीलाई यो खुशी भने कुवेती नागरिक अब्दुल्लाहा अल्मुताईरीले दिलाए । नेपालले यो सफलता पाउन भने २८ वर्षसम्म कुर्नु पर्याे । सन् १९९३ बाट साफ गोल्डकपको नामबाट सुरु भएको साफमा सहभागी जनाउने तीन राष्ट्र मध्ये नेपाल एक भए पनि फाइनल पुग्ने सपना भने बीचैमा टुंगिन्थ्यो । २८ वर्षपछि अल्मुताईरीको कमाण्डमा दिलाएको यो सफलताले नेपाली मात्रै नभई सारा दक्षिण एसियाका राष्ट्रले गर्व गर्ने अवस्था आएको छ ।
अल्मुताईरीले साफ फाइनल खेलपछि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । अब अल्मुताईरीलाई नेपाली खेलाडीले फाइनलमा उपाधिसहित सुखद् बिदाईको गर्नुपर्ने छ ।
प्रतिक्रिया