विदेश

अफगानिस्तानको मस्दिजमा आत्मघाती बम आक्रमण : ४७ जनाको मृत्यु‚ ७० घाइते


काठमाडौँ – अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक शिया मस्जिदमा विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो बिबी फातिमा मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा ७० जना घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन् । यो यस सहरको शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो । त्यहाँ मानिसहरूको घुइँचो थियो ।

प्रत्यक्षदर्शीका अनुसार तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको थिए। एक जनाले मस्जिदको गेट र दुई जनाले भित्र विष्फोट गराएका थिए । घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसा फुटेका र शवहरु भुइँमा छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

आक्रमणको जिम्मा कसैले पनि लिएको छैन। आक्रमणमा आईएस–केको संलग्नता हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।