समाचार

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते


काठमाडौँ – गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।