समाचार

टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा, विज्ञ भन्छन् साइत कुर्नै पर्दैन (भिडियोसहित)


काठमाडौँ – विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बनेर २ मिनेट जाँदाको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजया दशमीको दिन । यो दिन मान्यजनको हातबाट टीका थाप्ने, दुर्गामाताको प्रिय जमरा ग्रहण गर्ने र मीठो मीठो खाएर पिंङमा चचहुई गर्दै रमाउने दिन । टीका थाप्न मानिसहरु टाढाटाढाका आफन्तकोमा पुग्छन् । परदेशिएका छोराहरु पनि आफ्ना बाआमा भए ठाउँ वा भनौं गाउँसम्म पुग्छन् । दशैको रौनक नेपालीहरुका लागि वास्तवमै पृथक हुन्छ । यसपटकको परिस्थितिले यो मौलिकतामा केही बाधा उत्पन्न भएको छ । हुने खानेका लागि दशै रवाफ देखाउने अवसर पनि हो । तर बहुसंख्यक जनता अहिले पनि गरिबीको रेखामुनी छन् ।

जसका लागि दशैं त्यति सुखद हुँदैन । अझ देखासिकी र फजुल खर्च गर्नेहरुको प्रभावले दशैं कतिपयका लागि दशा बन्न पुग्छ । दशैं सबै हिसाबले राम्रो पर्व भए पनि केही सुधारका कदम दशैंमा पनि आवश्यक छ । पहिलो त दशैंमा दुर्गामाताका नाममा पशुबली दिने चलन वास्तवमै विरोधाभाष लाग्छ । कसैको ज्यान लिएर आफ्नो पेट भर्ने काम नै धार्मिक दृष्टिले उपयुक्त लाग्दैन । त्यसमाथि पशुपंक्षी पनि कसैका सन्तान नै हुन् । उनीहरुको बली दिएर दुर्गामाता खुसी हुन्छिन् भन्ने ग्यारेन्टी छैन ।

यसकारण भगवानका नाममा बली दिने चलन रोक्न सक्ने हो भने त्यो कुनै अर्थमा पनि नराम्रो हुँदैन । माछामासु खानेले फरक तरिकाले खान सक्छन् । तर आफ्नो स्वादका लागि भगवानका नाममा बली चढाइरहन नपर्ला । त्यस्तै टिकाको साइत हेर्ने चलन पनि व्यवहारिक नभएको कतिपयको तर्क छ । दशमीको दिन आफैमा शुभ दिन भएकोले जुनसुकै समयमा टिका थाप्न सकिने विज्ञहरु बताउछन् ।

नेपालमा राजसंस्था हुँदा राजाको हातको टीका लगाउने चलन थियो । त्यो क्रम राष्ट्रपतिहरुले पनि कायम राखेका छन् । राष्ट्रपति पनि कसैका सन्तान वा कसैका अभिभावक हुन्छन् । उनका शुभचिन्तक पनि हुन सक्छन् । उनीहरुका लागि राष्ट्रपतिले टिका लगाइदिनु स्वभाविक हुन जान्छ । तर उमेर र पदले पनि विशिष्ट स्थानमा पुगेकाहरुले समेत घुँडा टेकेर राष्ट्रपतिको हातबाट टीका लगाउने चलन सुधार गर्नुपर्ने विषय हो । दुई वर्षअघि त्यस्तै देखिएको थियो ।

मुलुक अहिले धर्मनिरपेक्ष भएको छ । धर्ममाथि राज्यको कुनै हस्तक्षेप नहुने भन्ने मान्यताले यस्तो अवधारणा संविधानमा राखियो । यद्यपि हिन्दुधर्म मान्ने बहुसंख्यक जनताका कारण पनि हुन सक्छ नेपालमा राष्ट्रपतिबाट विगतमा राजामहाराजाहरुले गरे झै दशैंमा टीका लगाइदिने चलन कायम हुँदै आएको छ । दशैमा हुने कतिपय क्रियाकलापहरुमा राज्य प्रत्यक्ष सहभागी हुने गर्छ । जसबाट संविधानमा धर्मनिरपेक्ष भनिए पनि नेपाल हिन्दुराष्ट्र झै लाग्छ । फूलपाति भित्र्याउनेदेखि, राष्ट्रपतिले आशिर्वाद दिनेसम्मका कार्यहरुले यस्तो देखिन्छ ।

अझ रोचक त दशैमा दिइने आशिर्वादमा लुकेको छ । मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर राजाहरुको महिमागानमा आधारित नेपालीका घरघरमा उच्चारण हुने गर्छ ।
संस्कृतमा लेखिएको दशैंको आशिर्वाद श्लोक छ–
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च

नारायणे ॥

अर्थात द्रोणचार्यका छोरा राजा अस्वत्थामाको जस्तो आयु, दशरथ राजको जस्तो श्रीसम्पत्ति, राजा रामचन्द्रको जस्तो सत्रुनाश, नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो वेग, युवराज दूर्योधनको जस्तो मान, अंगदेशका राजा कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, सम्राट युधिष्ठिर जस्तो सत्यवादी, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति रहोस् ।

वास्तविकतासँग तुलना गर्ने हो भने दशैंमा दिइने आशिर्वाद कसैको जीवनमा पनि लागू हुँदैन । तर आशिर्वाद भनेको शुभेच्छा हो । आशिर्वाद लिने दिने वहाना नै भए पनि आफन्तसँग भेट हुने यो चलन निश्चिय पनि राम्रो छ ।