समाचार

किन मनाइन्छ दशैं ? के छ यसको धार्मिक महत्व ? (भिडियोसहित)


काठमाडौँ – नेपालीहरुले महान चाड बडादशैँ उत्साहका साथ मनाइरहेका छन् । राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा यो पर्व मनाउने प्रचलन छ । यसपर्वको छुट्टै ऐतिहासिक महत्व त छदैछ पछिल्लो समय विकृतिको पाटो पनि देखिन थालेका छन् ।

घटस्थापनाको दिनबाट सुरु भएको बडादशैँ पूर्णिमासम्म १५ दिनधुमधामका साथ मनाइन्छ । नवरात्रको पहिलो दिन बिहानै नित्यकर्म समाप्त गरी जमरा राखेपछि दशैँ विधिवत रुपमा सुरुवात हुन्छ । घटस्थापनादेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा दुर्गा भवानीको पूजा, आराधना र प्रार्थना गरिन्छ । त्यस्तै विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

मिठो खाने,राम्रो लगाउने, घरआँगन, बाटोघाटो, गाऊ टोल सफा राख्ने जस्ता कार्य पनि दशैमा गरिन्छ । खुसीको अबसरमा नै भगवानको कृपा मानी देवी देवताको पूजा गरी दशैलाई बिशेष रुपमा मनाइन्छ । विभिन्न किसिमका रमाइलो गर्ने, पिङ्ग खेल्ने, साथीसंगी आफन्तहरुसँग भेटघाट गर्ने हुँदा आफन्तमा भाईचाराको सम्बन्ध बढ्दै जाने संस्कृतिविद्हरु बताउँछन् ।

पछिल्लो समय भने दशैँ मनाउने चलनमा निकै परिवर्तन आइसकेको छ । वास्तविकता र मौलिकताबाट टाढा हुँदै गएको संस्कृति कतिपय अवस्थामा विकृतिको रूपमा पनि देखिने गरेको छ । देखासीकी गरेर आफ्नो संस्कृति नै विर्सदै गएको अवस्था पनि छ । आफ्नो क्षमता अनुसार दशै मनाउने चलन भन्दा पनि ऋण गरेर पनि मीठो खानुपर्ने, राम्रो लगाउनुपर्ने, काम, क्रोध, लोभ, मोह र अहंकारको नाममा निर्दोष प्राणीको हत्या गर्नुजस्ताले पनि विकृति बढ्दै गएको संस्कृतिविद्हरु बताउँछन् ।

कतिपय संस्कृतिविद् भने दशैंलाई युगौयुगसम्म टिकाउनु पर्ने भएकोले बेलैमा पाठ्यक्रमकै विकाश गरि नयाँ पुस्तालाई यसको जानकारी दिन आवश्यक देख्छन् । यो पुस्ता प्रवृद्धिमैत्री भएकाले आधुनिक प्रविधिको प्रयोग गरि सिकाउन सके चाडैं नै नयाँ पुस्ताले अपनत्व लिने उनीहरुको विश्वास रहेको छ ।

अर्कोतर्फ जुवातासको लहर, जाँड रक्सी खाएर झैझगडा, सडक दुर्घटना, चोरी–बदमासी, कालोबजारी र महँगी यसको विकृत पाटो हो । समयको परिवर्तनसँगै यसको मौलिकतामा केही परिवर्तन आउनु स्वाभाविक हो । तर, चाडवाडको नाममा विकृति नै फैलाउनु भनेको दुःखको कुरा हो । देखासिकी गर्नु भन्दा पनि आफ्नो संस्कृतिलाई कसरी जोगाउने भन्ने तर्फ गम्भीर हुनुपर्ने संस्कृतिविद्हरु बताउँछन् ।