समाचार

कसरी खाने मासु ? कति खाने ? यस्तोे भन्छन् चिकित्सक (भिडियोसहित)


काठमाडौँ – केही वर्षअघिसम्म नेपालमा भारतीय खसीबोकाको भर परेर दशैं मनाउनु पर्ने बाध्यता थियो । तर अहिले स्थिति बदलिएको छ । मुलुक खसीबोकामा लगभग आत्मनिर्भर बनिसकेको छ । नेपालमा उपभोग हुने मध्ये ९५ प्रतिशत खसीबोका स्वदेशी उत्पादन नै हुन् । नेपालमा ठूला ठूला व्यवस्थित बाख्रा पालन केन्द्रहरु त छैनन्, तर जे जति वा जुन तरिकाले खसीबोका पाल्ने गरिएको छ, त्यसबाट मुलुक खसी बोकामा आत्मनिर्भर बनेको छ ।

पशु सेवा विभागले जनाएअनुसार नेपालमा १ करोड २५ लाखको संख्यामा बाख्रा प्रजातिका पशुहरु छन् । जसमध्ये वर्षमा नेपालीहरुले उपभोगका लागि ३३ लाख खसी बोका बर्सेनि काट्ने गरेका छन् । काठमाडौं उपत्यकामा महिनामा ५० हजार खसीबोका काटिन्छ । दशैमा साविक भन्दा ३० हजार बढी खसी बोका काट्ने गरिएको छ ।यी सबका सब खसी बोका नेपालकै उत्पादन हुन् । विगतका वर्षहरुमा फाटफुट रुपमा भारतबाट पनि खसीबोका आयात हुन्थे । तर अहिले स्थीति त्यस्तो छैन । अहिले भारतबाट आयात नगरे पनि आन्तरिक उत्पादनले माग थाम्न सक्छ ।

परम्परागत ढंगले नै भए पनि नेपालमा बाख्रा पाल्ने चलन पुरानो हो । बाख्रा मात्रै नभएर गाउँघरमा गाई भैसी, हाँसकुखुरा, सुंगुर आदि पाल्ने गरिन्छ । व्यवसायिक भन्दा पनि परम्परागत हिसाबले घर खर्च चलाउन सहायक हुने गरी मानिसहरुले पशुपंक्षी पाल्ने गर्छन् । यसरी पालिएका पशु पंक्षीले नै अहिले देशको आवश्यकता पूरा गरिरहेको छ । व्यवसायिक रुपमा पाल्ने गरिएको पशुको संख्या न्युन मात्रै छ ।
भारतसँग सीमा जोेडिएका तराईका जिल्लामा रहेका पशु क्वारेन्टाइन कार्यालयहरुले दिएको जानकारीअनुसार गत वर्ष भारतबाट नेपालमा १५ हजार खसीबोका आयात भएका थिए । तर यसपटक त्यति खसी बोका आयात नभएको सरकारी अधिकारीहरुको अनुमान छ ।
घरमै खसी ढाले पछि दसैमा मासुको भण्डार नै लाग्छ । माछामासु खानेहरुका लागि मासु स्वादिलो खाद्यवस्तु हो ।

मासु खादा स्वस्थकर मासु खानु जरुरी हुन्छ । त्यति मात्रै होइन मासु कति खाने, कसरी खाने भन्ने विषयमा पनि जानकारी राख्नु आवश्यक छ । मासु प्रोटिनको पूर्ण स्रोत मानिन्छ ।पौष्टिकताको दृष्टिले मासु राम्रो खाद्य वस्तु हो । ठिक ढंगले पकाउने र मात्रा मिलाएर मासु उपभोग गर्दा यसका धेरै फाइदा छन् । उसीनेर मासु खानु सबैभन्दा उत्तम हुन्छ । भुटेर खानेहरुले न्यून मात्रामा वनस्पती तेल राखेर पकाउनु ठिक हुन्छ । तयार भएको मासु खाँदा पनि सावधानी नअपनाउँदा मासु अड्किएर अस्पताल पुग्नेहरुको संख्या पनि उल्लेख्य हुन्छ । यसमा पनि सावधानी अपनाउन चिकित्सकहरु सुझाव दिन्छन् ।

मासु पकाउदा लसुन, दालचीनी, ल्वाङको तेल, रोजमेरी मिलाएर पकाउदा राम्रो हुन्छ । मासु खाएपछि दही खानाले मासु पचाउन पाचन प्रणालीलाई सजिलो हुन्छ । मासुलाई पकाउनु अघि १ देखि ५ डिग्री सेल्सीएमा चिस्याउनु आवश्यक हुन्छ । रेफ्रीजेरेटरमा चिस्याएको मासु भन्दा ताजै मासु खाने चलन छ । तर स्वास्थ्यको दृष्टिले मासु १२ घण्टा चिस्याउन आवश्यक छ ।मासुमा रहने बोसो सकेसम्म नखानु नै राम्रो हो । कतिपय रोगहरु भएका व्यक्तिका लागि त बोसो घातक पनि हुन सक्छ । औसत उचाई भएका व्यक्तिहरुका लागि दैनिक ६६ ग्राम बोसो आवश्यक हुन्छ । यति मात्रा दैनिक खाइने खाद्यवस्तुबाटै प्राप्त हुन्छ । त्यो भन्दा वढि बोसो उपभोग गर्दा पाचन प्रणालीलाई भार पर्छ ।
खसीको मासु शक्तिको पनि राम्रो स्रोत हो । ३ औस मासुमा १ सय २२ क्यालोरी शक्ति पाइन्छ । ३ औन्स भनेको ८५ ग्राम हो । मासुमा धेरै किशीमका प्रोटिन पनि पाइन्छन् । मासुको प्राटिनमा आठ किशीमका एमिनो एसिड पनि पाइन्छन् ।एमिनो एसिड शरिरका लागि आवश्यक हुन्छ । जुन शरिरले आफैं उत्पादन गर्न सक्दैन । तर मासुमा धेरै किशीमका एमिनो एसिड हुने भएका कारण मासु उपभोग स्वास्थ्यका लागि लाभदायक हुन्छ । ८५ ग्राम मासुले प्रोटिनको दैनिक माग पुरा गर्न सक्छ ।

प्रोटिनले मांसपेशी तथा शरीका अवयवहरुको विकासका लागि आवश्यक हुन्छ ।खसीको रातो मासुमा प्रशस्त मात्रामा जिंक पाइन्छ, जुन विशेषतः केटाकेटी तथा किशोरकिशोरीका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ । त्यस्तै मासुमा आइरन अर्थात लौह तत्व पनि हुन्छ । यसले युवा, बृद्धबृद्धा, बालबालिका र विरामीलाई फाइदा पुर्याउछ । त्यति मात्रै होइन मासुमा भिटामीनहरु, खनिजहरु पनि पाइन्छ ।यस्ता तत्व शरिर स्वस्थ राख्न आवश्यक हुन्छ । दसैमा एकै पटक धेरै मासु उपभोग गर्नु भन्दा मात्रा मिलाएर नियमित मासु खानु स्वास्थ्यका दृष्टिले लाभदायक हुन्छ ।

यसको ठिक मात्रा चाहि व्यक्तिको तौल, उमेर, लिंगका आधारमा तय हुन्छ । यद्यपी औसतमा ७५ ग्राम मासु दिनको उपभोग गर्नु स्वास्थ्यको दृष्टिले ठिक हुने विज्ञहरुको सुझाव छ ।