समाचार

आज महानवमी पर्व शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गर्दै


काठमाडौँ – शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गरी महानवमी पर्व आज मनाइँदैछ । महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइ बिशेष पूजा गर्ने चलन छ ।

सिद्धिदात्रीको पूजा आराधना गर्नाले इच्छाअनुसारको फल प्राप्त हुने धार्मिक विश्वास रहेकोे छ । आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । पशुबली नदिनेहरूले कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई पायस पनि चढाउने गर्दछन् ।

काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आजैको दिन खुल्ने गर्दछ । आज कोतहरूमा हर्षबढाइँका साथै कोतपूजा र निशान पूजा पनि गर्ने प्रचलन रहेको छ ।