समाचार

दशेँका लागि ल्याइएका खसी–बोका विक्री भएन (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्थामा गाउँमा दशैँ मनाउन जानेको संख्या उल्लेख्य रहेकोले काठमाडौंमा खसिबोकाको व्यापार कम भएको हो ।

खसिबोकाको ब्यापारमा काठमाण्डौका स्थानीय ब्यापारीहरुको राम्रो ब्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परेको मोल नै उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए । गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए ।

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक खसि किनेको परेको मोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गरे । उनले कोरोनाका कारण ग्राहकहरुको खरिद नभएको बताए । किन्न आएका ग्राहकहरुले मुल्य थोरै दिने गरेको बताए ।

उनले कोरोना महामारीले गर्दा खसिबोका बिक्री वितरण हुन नसकेको बताए । बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौँ आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।