राजनीति

मुगु दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुगुमा हिजो भएको बस दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् ।

एक विज्ञप्तिमार्फत प्रचण्डले देशका विभिन्न भागमा भएका सडक दुर्घटना ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

‘नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको देखिन्छ’, प्रचण्डले भनेका छन्, ‘यसको साथै चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन् ।’

‘प्रचण्ड’ले सवारी दुर्घटना न्यूनीकरण गर्न सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । ‘प्रचण्ड’ले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।