समाचार

ट्रकको ठक्करबाट सफारीमा सवार युवकको मृत्यु, ६ जना घाइते


काठमाडौँ – इटहरीमा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार एक युवकको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा कारलाई समेत ठक्कर दिएको दिएको थियो । सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका( ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना। ४ ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश ३ ०१ ०२४च ९७२२ नम्बरको कारलाई पनि ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा सिटी सफारीमा सवार इटहरी(५ का २३ वर्षीय ईश्वर राउत छन् । टाउकोमा चोट लागेर गम्भीर घाइते राउतको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो ।

घाइते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त विक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दीलिपकुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्रहरीले बताएको छ ।

उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । गम्भीर घाइते दीलिपको भने नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।