राजनीति

दशैंको लागि स्वदेश फर्किनेहरु बढे, संक्रमणलाई मध्यनजर गर्दै बनाइयो यस्तो नियम (भिडियोसहित)


काडमाडौँ – नेपालीहरुको महान पर्व दशैं मनाउन विदेशमा रहेका नेपालीहरु स्वेदेश फर्किने क्रम बढेको छ । अन्य देशबाट फर्कनेको संख्यामा सामान्य वृद्धि भएपनि भारतबाट नेपाल फर्किनेहरूको भने लर्को नै लागेको छ । दशैंलाई पारिवारिक जमघटको पर्वको रुपमा पनि मनाइन्छ । त्यसैले त सात समुन्द्र पारि रहेका नेपालीहरु पनि दसैको भाका राख्दै स्वदेश फर्कने गर्दछन् । त्यसमा पनि छिमेकी मुलुक भारतमा रहेका नेपालीहरु भरसक दशैंमा गाउँ फर्कने प्रयास गर्छन् ।

सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए । स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको बताए ।

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए । उनले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताए । उनले कोरोनाका साथै नेपाल फर्किनेहरुको सीमामा मलेरिया र एचआईभीको परिक्षण पनि गरिएको बताए ।

गड्डाचौकी र गौरीफन्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर पनि निगरानी बढाइएको छ । यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको स्वास्थ्यकर्मी साउदले बताए । भारतमात्र होइन अन्य देशमा रोजगारीका लागि पुगेका नेपालीहरु पनि दशैंको अवसरमा स्वदेश फर्किने गरेकोले सामान्य अवस्था भन्दा दसैंको बेला एयरर्पोमा आगन्तुकको भीड लाग्ने गरेको छ ।